दैलेखका तिन जना उत्कृष्ट कृषक पुरस्कृत

जित बहादुर थापा (रोशन) । २८ असार दैलेख
दैलेखका उत्कृष्ट तीन जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जिल्लाभरीबाट उत्कृष्ट किसानलाई पुरस्कार वितरण गरेको हो ।
जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तरगत प्रथम पुरस्कार नारायण नगरपालिका ६ मा रहेको स्वस्तिमा एग्रो कृषि फर्म सञ्चालक पार्वती रेग्मीलाई ३० हजार नगद सहित प्रमाण–पत्र, द्वितीय आठबीस नगरपालिका ५ मा निरजकुमार माझीले सञ्चालनमा ल्याएको कर्णाली कृषि तथा पशुपन्छी फर्मलाई २५ हजार नगद सहित प्रमाण–पत्र र तृतीय पुरस्कार भैरवी गाउँपालिका ६ का राजेश कँडेलले सञ्चालन गरेको ग्रामीण पशुपन्छी तथा एग्रो फरेष्ट्री फर्मलाई २० हजार नगद सहित प्रमाण–पत्रले सम्मान गरेको अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख डा. ऋषभ गुरागाईंले जानकारी दिए ।


यस्तै, उक्त पुरस्कारहरु कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री शाहले किसानहरुले नै देशको अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याउन मद्दत गर्ने बताए ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको आयोजनामा भएको मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमसँगै पशुपन्छी विकास शाखा प्रमुख र सरोकारवालाहरूसँग समन्वय गोष्ठी पनि गरिएको थियो ।
यस्तै गोष्ठीमा दैलेख जिल्लामा रहेका स्थानीय तहहरुका पशुपन्छी विकास शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *