मकैबाली जोगाउन किसानकाे बारीमै बास

मातृभूमी संवाददाता । २९ श्रवाण दैलेख
दैलेखका अधिकांश ग्रामिण क्षेत्रका किसानहरु मकैबाली जोगाउन रातभरी मकै बारीमा जाग्राम बस्न थालेका छन् । जंगली जनावर बँदेलले मकैबाली सखाप पार्न थालेपछि स्थानीय टहरा बनाएर मकै बाली जोगाउन बारीमै दिनरात बिताउन बाध्य भएका हुन् । जंगल नजिक बस्ती हुँदा बाँदर र बँदेलले स्थानीयलाई हैरान बनाएको छ । हिउँदमा घरमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेका बाँदरले बर्खामा बारीमा लगाएका मकै, भटमास लगायतका बाली नष्ट गर्न थालेपछि स्थाीय किसानहरु हैरान भएका छन् ।
भर्खरै लाग्न थालेको मकैको घोगा दिनमा बाँदर र रातमा बँदेलले नष्ट गर्न थालेपछि बारीमै त्रिपाल तथा छाप्रा हालेर दिनरात कुर्नु परेको स्थानीय किसानहरु बताउँछन् । त्रिपाल तथा छाप्रामा दैनिक एक–दुई जना बाँदर र बँदेल धपाउने बस्नु परेको कृषकहरु बताउँछन् । छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बारीमा जाग्राम बस्नु पर्ने बाध्यता रहेको दैलेखका स्थानीय किसानहरुको भनाई छ ।
घोगा लाग्ने बेलाको मकै जोगाउन रातदिन बारीमै बास बस्दै आएको भैरवी गाउँपालिका ३ कुर्मका देवीराम खडायतले बताए । उनले रातदिन मकैबारीमै जाग्राम बस्दा पनि मकैबाली जोगाउन मुस्किल भएको उल्लेख गरे । उनले टहरामा बसेर टर्च, लाठी र आवाज निकाल्ने साधन प्रयोग गरी बँदेललाई तर्साउने प्रयास गरे पनि बँदेलले मकैबाली नष्ट गरेको बताउए । उनले तत्काल स्थानीय सरकार लाई बँदेल नियन्त्रण गर्न केही कदम चाल्न आग्रह गरे । यस्तै गत वर्षको तुलनामा यस वर्ष बँदेलको गतिविधि दिनप्रतिदिन बढ्दै गएको भैरवी गाउँपालिका ४ का शेर बहादुर खडायतले बताए । उनले स्थानीय सरकारले समयमै बँदेलको गतिविधि नियन्त्रण गर्न पहल नगरे किसानले लगाएको वर्षभरीको मकै उत्पादनमा ठुलो नोक्सान हुने बताए । मकैबाली जोगाउन रातदिन बारीमै टहरा बनाएर बास बस्दै आए पनि पूर्ण रूपमा बाली जोगाउन नसकिएको गुनासो उनले गरे ।
सयौंको संख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट गर्ने हुँदा एकजना कुरुवा अनिवार्य बस्नु पर्ने बाध्यता रहेको नारायण नगरपालिका २ का किसान धर्मराज थापाले बताए । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको बताउँदै असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्नु नपर्ने बताए ।
कतिपय किसानले बाँदरलाई डर देखाउन बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको पुत्ला बनाएर राख्ने गरेका छन् । पहिले–पहिले कुकुर र पुत्लादेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छाडेको थापाले बताए ।
पछिल्लो समयमा जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको डिभिजन वन कार्यालय दैलेखका प्रमुख राधाकृष्ण दासले बताए । उनले बदलले बाली क्षति भएर मर्कामा परेका कृषकको क्षति हेरेर राहत दिइने बताए । बँदेलले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् ।
केही समय पहिला दैलेखको आठविस नगरपालिका ३ को जाक्सीमा बँदेलको आक्रमणमा परी छ जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयलाई बँदलले आक्रमण गरी घाइते बनाएको थियो । जिल्लाको २१ हजार १ सय २० हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।

दैलेखका दुल्लुको गमौडी, भैरवीको रावतकोट, महावुको वडाखोला, खरिगैरा, नारायणको जाहारकोट, कुसाँडा, कुईकाना, ठाँटिकाँधको मटेला भगवतीमाई गाउँपालिका ७ को घोदाउन र पाछना, आठवीस लगाएत जिल्लाका विभिन्न क्षेत्रमा दिनमा बाँदर र रातमा बँदेलले आतंक मच्चाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *