२० पालिकामा फलफूल बगैँचा स्थापना, कृषकलाई अनुदान

मातृभूमी संवाददाता । ३१ श्रवाण दैलेख
कर्णाली प्रदेश सरकारले नौ जिल्लाका २० पालिकामा फलफूलको बगैँचा स्थापना गर्न अनुदान दिने भएको छ । प्रदेश सरकारको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अर्न्तगत आयोजना कार्यान्वयन एकाइ मार्फत कृषि उद्यमी, कृषक समूह तथा सहकारीलाई फलफूल बगैँचा स्थापना गर्न सहयोग गर्न लागेको हो ।
सन २०२९ सम्म प्रदेशभर २ हजार ६ सय हेक्टरमा बगैँचा विस्तार गर्ने लक्ष्य राखिएको आयोजनाका प्रमुख रवीन धितालले बताए । यस अर्न्तगत १ हजार ४ सय ५० हेक्टरमा स्याउ, ६ सय हेक्टरमा ओखर, ३ सय ५० हेक्टरमा सुन्तला र १ सय हेक्टरमा कागजी बदाम र चुच्चे ओखर खेती गरिने छ ।
कुन–कुन पालिकामा ?
दैलेखका नारायण, चामुण्डा बिन्द्रासैनी र आठबीस नगरपालिका, सल्यानको शारदा र सिद्धकुमाख, जाजरकोटको छेडागाड र जुनिचाँदे, रुकुम पश्चिमको मुसिकोट, सानीभेरी र बाँफीकोट, कालीकोटको शुभकालिका र नरहरिनाथ, जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी, मुगुको खप्त्याड र सोरु, हुम्लाको ताजाकोट र अदानचुली तथा डोल्पाको मुडकेचुला गाउँपालिकामा कार्यक्रम लागू भएको छ ।
जग्गा व्यवस्थापन र मापदण्ड
बगैँचा स्थापनाका लागि असोज ६ गतेभित्र सम्झौता सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि कम्तीमा १५ वर्ष अवधिको जग्गा भाडा सम्बन्धी करारपत्र, जग्गाको सबै कित्ताको विवरण सहित नापी नक्सा आवश्यक हुने छ । प्रस्तावित बगैँचाको जग्गा एक रोपनीदेखि २० रोपनीसम्म हुनुपर्ने र एउटै क्लस्टर वा अधिकतम तीन चक्लामा सीमित गर्नुपर्ने व्यवस्था छ । सामूहिक आवेदन पेस गर्दा प्रति घरधुरी कम्तीमा चार रोपनी क्षेत्रफल र समग्रमा कम्तीमा एक हेक्टरको क्लस्टर हुनुपर्ने छ ।
विस्तार भएको क्षेत्रफल
आर्थिक वर्ष २०८१/०८२ मा मात्रै सुन्तलामा १ सय ५८ हेक्टर, ओखरमा ५६ हेक्टर, कागजी बदाममा २१ हेक्टर र चुच्चे ओखरमा दुई हेक्टर क्षेत्रफलमा बगैँचा विस्तारका लागि सम्झौता भइसकेको छ ।
कसरी पाउने अनुदान ?
अनुदान कृषक समूह, सहकारी र कृषि उद्यमीलाई लक्षित गरिएको छ । सहकारीमा आधारित मूल्य शृंखला विकास अर्न्तगत प्रत्येक पालिकामा कम्तीमा एक संस्थाले पाउने व्यवस्था गरिएको छ । यस्तै कृषि सामग्री तथा सेवा उपलब्ध गराउने स्थानीय सेवा प्रदायक कार्यक्रम अर्न्तगत एक पालिकामा कम्तीमा एक अनुदान दिइने छ । प्रदेशका सबै स्थानीय तहमा नर्सरी सुदृढीकरणका लागि पनि अनुदान उपलब्ध गराइने प्रदेश सरकारको भनाइ छ ।
उपयुक्त क्षेत्रफल
विशेषगरी हिमाली जिल्लामा स्याउ र ओखर उत्पादनका लागि राम्रो सम्भावना देखिएको छ भने मध्यम पहाडी भेग सुन्तला र कागजी बदाम उत्पादनका लागि उपयुक्त रहेको कृषि अधिकृत धितालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *