दसैँमा सुनसान दैलेख बजार (फोटो फिचर)
मातृभूमी संवाददाता । १५ असोज दैलेख
दसैँको रमाइलोमा दैलेख सदरमुकाम सुनसान देखिएको छ । प्रायः समयमा भीडभाड रहने दैलेख सदरमुकाम अहिले सुनसान देखिएको हो । चाडपर्व मनाउन सर्वसाधारण गाउँ फर्किएपछि बजार सुनसान बनेको हो ।
दसैँ सुरु भएदेखि अष्टमीसम्म दैलेखको देबकोटा चोक, डेकेन्द्र चोक, गणेश चोक, जनक चोक लगायतका ठाउँबाट गाउँघरमा फर्किने र गाउँबाट किनमेल गर्न बजारसम्म आउने सर्वसाधारणका कारण सदरमुकाममा निकै चहलपहल देखिएको थियो । तर टीकाको अघिल्लो दिन बुधबारदेखि भने बजार सुनसान बनेको हो ।
जिल्ला सदरमुकाममा प्रायः कर्मचारी, विद्यार्थी, व्यवसायी र कामदार बस्ने गर्दछन् । रोजगारी वा अध्ययनका लागि जिल्लामा केन्द्रित हुने उनीहरू चाडपर्व लागेसँगै गाउँ फर्किएपछि सधैं चहलपहल हुने बजार सुनसान बनेको हो ।
बजार सुनसान भएपनि गाउँघर भने चहलपहलयुक्त बनेका छन् । परिवारसँगै चाडपर्व मनाउन गाउँ फर्किएका मानिसहरूले गाउँलाई रमाइलो बनाएका छन् ।


