संशोधित ऐनका कठोर प्रावधान सच्याउन औषधी व्यवसायी संघ दैलेखको माग
मातृभूमी संवाददाता । १४ मंसिर दैलेख
नेपाल औषधि व्यवसायी संघ दैलेखले संशोधित औषधी ऐन सच्याउन माग गर्दै एक घण्टा सटर डाउन गरेका छन् । औषधी ऐन २०३५ को दफा ११ का उपदफा (३) र (५) को प्रावधान तत्काल सच्याउन माग गर्दै एक घण्टा सटर डाउन गरेका हुन् । संघले जारी गरेको विज्ञप्तीमा संघीय संसद्बाट पारित भई साउन १४ गतेदेखि लागू भएको नयाँ प्रावधानले औषधी व्यवसायीहरूलाई गम्भीर समस्यामा पारेको उल्लेख गरिएको छ ।
संशोधित व्यवस्था अनुसार तोकिएको समयसीमाभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र वा प्रमाणपत्र नवीकरण नगरे दोब्बर दस्तुर तिरेर ३० दिनभित्र नवीकरण गर्न सकिने उल्लेख गरिएको छ । उक्त अवधि नाघेमा प्रमाणपत्र ‘स्वतः रद्द’ हुने प्रावधानले दशकौँदेखि सञ्चालनमा रहेका व्यवसाय समेत बन्द हुने अवश्था सिर्जना भएको संघले जानकारी दिएको छ ।
औषधी व्यवसायी संघ दैलेखका अध्यक्ष इन्द्र बहादुर खत्रीले २०५७ सालको दोस्रो संशोधनमा राखिएको यस्तै व्यवस्था तीव्र विरोधपछि ‘द्रष्टव्य’ राखेर सच्याइएको बताए । तर २०७२ पछि पुनः कठोर रूपमा लागू गरिएको छ । यो प्रावधान व्यवसायीको हित विपरीत भएको र हजारौँ उद्यमी विस्थापित हुने जोखिम रहेको अध्यक्ष खत्रीले बताए ।
आफ्ना मागहरु तत्काल सम्बोधन गर्न दवाव सिर्जना गर्न दैलेखका औषधी व्यवसायीहरूले आज बिहान ११ः०० वजेदेखि १२ः०० बजेसम्म एक घण्टा औषधि पसल (आयात, थोक तथा खुद्रा) पूर्ण रूपमा बन्द गरेर आफ्नो ऐक्यबद्धता जनाएका थिए । औषधी व्यवसायी संघ दैलेखका अध्यक्ष खत्रीले “व्यवसाय सुरक्षित—व्यवसायी सुरक्षित” नीतिलाई आत्मसात् गर्दै शालिन तर दृढ रूपमा अन्यायपूर्ण प्रावधान विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका छन् ।

