धमाधम राजिनामा दिदै दैलेखका शिक्षक
मातृभूमी संवाददाता । १२ मंसिर दैलेख
पछिल्लो समयमा दैलेखका सामुदायिक विद्यालयका शिक्षकहरूले अवधि नपुग्दै धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका अनुसार कतिपय शिक्षकले ब्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका छन् । यसैगरी कतिपए सक्रिय राजनीति नै छनोट गर्ने उदेश्यले राजिनामा दिएका हुन् ।
यो बर्ष मात्र २० जना भन्दा बढी शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका सूचना अधिकारी रतन बिष्टले जानकारी दिए । उनले धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको बताए । प्राथमिक तहका १७ जना, निम्न माध्यमिक तहका ३ जना गरी २० जना शिक्षकको राजीनामा स्वीकृत भएको उनले बताए ।
उनले पछिल्लो समय शिक्षण पेसामा ब्यक्तिगत कारण देखाउँदै शिक्षक पेसाबाट राजीनामा दिनेको संख्यामा वृद्धि हुँदै गएको बताए । सूचना अधिकारी विष्टका अनुसार कतिपए ठाँउमा दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भएका कारण र कतिपय ठाँउमा धेरै वर्ष अध्यापन गराइसकेका शिक्षकले स्थानीय तहले दिएको तलब सोचेजस्तो नभएका कारण पनि जागीर छोडेका हुन् ।
केहि दिन अगाडी ठाटिकाँध गाँउपालिका ५ को सत्यदेबि आधारभूत विद्यालय पालिका अनुदानमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षक चक्रबहादुर थापाले राजीनामा दिएका छन् । उजले धेरै वर्ष अध्यापन गराइसकेकाले शिक्षकले भने जस्तो स्थानीय तहहरुले नियमित तलब नदिएका कारण राजीनामा दिएको बताए ।

