नगर क्षेत्रका अवैध संरचना हटाउन ३५ दिने अल्टिमेटम

मातृभूमी संवाददाता । १३ श्रावण दैलेख
दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । सडक तथा सडक पेटी (फुटपाथ) अवरुद्ध हुने गरी निर्माण गरिएका भौतिक संरचना र व्यवसायका कारण सर्वसाधारणको आवागमनमा समस्या परेको भन्दै नगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको हो ।
नारायण नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रको सार्वजनिक सडकको अतिक्रमित जग्गा खाली गराउने निर्णय गरेको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले जानकारी दिए । नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबैलाई तोकिएको अवधिभित्र अतिक्रमण हटाउन आग्रह गरेको उनले बताए । सडक र सडक पेटी ओगटेर बनाइएका घर, टहरा, सार्वजनिक आवतजावतमा बाधा पुर्‍याउने गरी सञ्चालन गरिएका व्यवसाय र घरबाट सोझै सडकमा पानी खस्ने गरी जोडिएका पाइपहरू हटाउनुपर्ने उनले बताए ।
तोकिएको समयावधिभित्र स्वयं धनिले संरचना नहटाएमा नगरपालिका आफैँले प्रचलित कानुन बमोजिम ती संरचनाहरू हटाउने र हटाइएका सामग्रीहरू जफत गर्ने र नियमानुसार कडा कारबाही प्रक्रिया अघि बढाउने नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले चेतावनी दिए । “व्यावसायिक सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन” भन्ने नारालाई आत्मसात् गर्दै नगरलाई व्यवस्थित बनाउन सबै नगरवासीलाई सहयोग गर्न उनले अपिल समेत गरे । नगरपालिका क्षेत्रभित्र फुटपाथ ओगटेर व्यवसाय गर्ने र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई हटाउने बाटो खुलेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *