दैलेख अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
मातृभूमी संवाददाता । १३ श्रावण दैलेख
दैलेख अस्पतालका आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा दैलेख अस्पतालका चिकित्सकहरू पनि आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघको देशव्यापी आह्वान गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै दैलेख जिल्ला अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मी पनि आन्दोलित भएका हुन् । आकस्मिक बाहेकका सबै नियमित सेवाहरू ठप्प भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए ।
अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा मात्र सञ्चालनमा रहने जनाएको छ । आन्दोलनका कारण बहिरंग ओपिडी सेवा, ल्याब, भिडियो एक्सरे तथा अन्य प्रशासनिक र परामर्श सेवाहरू पूर्ण रूपमा ठप्प भएको डा. विश्वकर्माले बताए । कार्यस्थलमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बारम्बार हुने असुरक्षा, भौतिक आक्रमण र दुर्व्यवहारका घटना नरोकिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँमा भयमुक्त वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने माग आन्दोलनकारीले राखेका छन् । अस्पतालका सेवाहरू अचानक ठप्प भएपछि बिरामी तथा सेवाग्राहीलाई पर्न गएको अप्रत्याशित र गम्भीर असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गरेको छ ।

