निजी विद्यालयका सवारी साधन लक्षित ट्राफिक चेकिङ
मातृभूमी संवाददाता । १४ श्रावण दैलेख
कर्णाली प्रदेश अभियान अर्न्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले श्रावण १४ गते निजी विद्यालयका सवारी साधनहरूको विशेष जाँच (चेकिङ) गरेको छ । नारायण नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयका सवारी साधनहरूलाई लक्षित गरी चेकिङ गरिएको हो ।
निजी विद्यालयका गाडीहरूको स्थलगत निरीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । सवारी साधनहरूले तोकिएको मापदण्ड पूरा गरे/नगरेको, गाडीको यान्त्रिक अवस्था, आवश्यक कागजात (ब्लूबुक, अनुमति पत्र) तथा चालकहरूको मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको उनले बताए ।
चेकिङका क्रममा फेला परेका प्राविधिक तथा कानुनी कमिकमजोरीहरूलाई तत्काल सुधार गरी कार्यान्वयनमा ल्याउन प्रहरी टोलीले विद्यालय प्रशासन र चालकहरूलाई सुझाव दिएको कार्यालय प्रमुख गुरुको भनाइ छ ।
विद्यार्थीहरूको सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सवारी चालक तथा सहचालकहरूलाई ट्राफिक नियम, गति सीमितता र जिम्मेवारीबारे विस्तृत जानकारी समेत प्रदान गरिएको बताए । नियम उल्लंघन गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिँदै ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरी प्रमुख गुरुले आग्रह गरे ।

