रेडियोको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण
मातृभूमी संवाददाता । १५ श्रावण दैलेख
रेडियो मातृभूमि एफ. एम. ९६.५ मेगाहर्ज, दैलेखले आफ्नो चौथो वार्षिक उत्सव तथा पाँचौँ स्थापना दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय दैलेखका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रेडियोले एक विशेष कार्यक्रमकाबीच फलफूल वितरण गरेको हो ।
रेडियोका प्रबन्ध निर्देशक सिजापतीले स्थापना दिवसमा समाजका अति विपन्न र स्वास्थ्य उपचार गराइरहेका नागरिकलाई फलफूल वितरण गरेको बताए । रेडियोले स्थापना कालदेखि नै व्यावसायिक पत्रकारितासँगै सामाजिक सेवाका कामलाई पनि निरन्तरता दिँदै आएको प्रबन्ध निर्देशक सिजापतिले बताए । उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख डा. सुदिप खड्काले रेडियो मातृभूमि एफ. एम.को यस मानवीय कार्यको उच्च प्रशंसा गरे । उनले सञ्चार माध्यमहरू समाचार र सूचना प्रवाहमा मात्र सीमित नरहेर बिरामीहरूको मनोबल बढाउने यस्ता परोपकारी कार्यमा जोडिनु सकारात्मक भएको उल्लेख गरे । फलफूल वितरणले अस्पतालमा रहेका बिरामीहरूलाई थोरै भए पनि राहत र खुसी मिलेको डा. खड्काले बताए ।
यस्तै नेपाल पत्रकार महासंघ दैलेखका निबर्तमान अध्यक्ष एब रेडियोका स्टेसन म्यानेजर अमर सुनारले रेडियोको सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिक उत्सबमा फलफुल बितरण गरिएको बताए । स्टेसन म्यानेजर सुनारले यस अबसरमा बिज्ञापनदाता, स्रोता, पाठक लगाएत सम्पुर्ण शुभचिन्तकलाई धन्यवाद समेत प्रदान गरे ।

