मन्दिर निर्माणका लागि दैलेखको फुलबारी विद्या मन्दिरद्वारा १ लाख भन्दा बढी सहयोग
मातृभूमी संवाददाता । १८ श्रावण दैलेख
दैलेखको नारायण नगरपालिका १ मा रहेको गणेश चोकमा श्रीकृष्ण मन्दिर निर्माणमा फुलबारी विद्या मन्दिरले १ लाख भन्दा बढी रकम सयोग गरेको छ । नारायण नगरपालिका १, ६ र ७ बीच भागमा रहेको स्थानमा निर्माणाधिन श्रीकृष्ण मन्दिरका लागि विद्यालयले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । विद्यालय प्रशासनले एक कार्यक्रमका बीच श्रीकृष्ण मन्दिर निर्माण उपभोक्ता समितिका पदाधिकारीहरूलाई उक्त रकम हस्तान्तरण गरेको विद्यालयका फाउण्डर सुवास कुमार थापाले जानकारी दिए ।
मन्दिर निर्माण अभियानमा स्थानीय समुदायको चासो, सहभागिता र अपनत्व बढाउने पवित्र उद्देश्यले सहयोग गरिएको फाउण्डर थापाले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डर थापाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विभिन्न सामाजिक तथा धार्मिक उत्तरदायित्व निर्वाह गर्नु पनि शैक्षिक संस्थाको मुख्य कर्तव्य भएको बताए । स्थानीय धार्मिक एवं ऐतिहासिक सम्पदाको जगेर्ना र संरक्षणका लागि आफ्नो संस्थाका तर्फबाट सानो प्रयास गरिएको उनको भनाई छ ।
उनले मन्दिर निर्माण जस्ता पवित्र सामाजिक अभियानमा समाजका सबै क्षेत्र र वर्गको सहभागिता रहँदा आपसी सामाजिक सद्भाव, एकता र सांस्कृतिक पहिचान थप मजबुत हुने विश्वास ब्यक्त गरे । श्रीकृष्ण मन्दिर निर्माण उपभोक्ता समितिले प्राप्त ठुलो आर्थिक सहयोग प्रति फुलवारी विद्या मन्दिर परिवारलाई विशेष धन्यवाद दिँदै आभार प्रकट गरेको छ । यस्ता सहयोगले निर्माण कार्यलाई गति दिन थप ऊर्जा मिल्ने समितिले जनाएको छ ।

