मकैबाली जोगाउन किसान रातभर जाग्राम

मातृभूमी संवाददाता । १८ श्रावण दैलेख
दैलेखमा जंगली जनावर बाँदर र बँदेलले मकैबाली नष्ट गर्न थालेपछि ग्रामीण क्षेत्रका किसान बाली जोगाउन रातभर बारीमै जाग्राम बस्ने गरेका छन् । जिल्लाका किसानले लगाएको मकै दिउँसोको समयमा बाँदर र राति बँदेल, दुम्सी लगायत जंगली जनावरले नष्ट गर्न थालेपछि रातभर बारीमै जाग्राम बस्नु परेको हो ।
भैरवी, महावु, नारायण, दुल्लु, डुङ्गेश्वर लगाएतका पालिकामा किसानले बाली जोगाउन बारीमै टौवा बनाएर पालैपालो रातभर बारीमै बस्ने गरेका छन् । वर्षभरको मेहनतबाट उत्पादन भएको मकै घर भित्र्याउने बेलामा जंगली जनावरले ठूलो क्षति पुर्‍याउन थालेपछि मकैबारीमै रात बिताउनुपर्ने बाध्यता रहेको किसानको भनाई छ ।
भैरबीका स्थानीय किसान भवानीप्रसाद कँडेलले दिनभर बारीमा काम गरेपछि राति बँदेल धपाउन बारीमै बस्नुपर्ने अवस्था रहेको बताए । बँदेलको बथान एकै पटक बारीमा पस्दा केही मिनेटमै ठूलो क्षेत्रफलको मकैबाली नष्ट गर्ने गरेको उनले बताए । यस्तै अर्का किसान छबिलाल कँडेलले बँदेल धपाउन टिन बजाउने, टर्च बाल्ने लगायतका उपाय अपनाए पनि दीर्घकालीन समाधान हुन नसकेको बताए ।
विगतदेखी नै जंगली जनावरले मकैबाली नोक्सान गर्दै आएको उनले बताए । उनले बँदेल र बाँदर आतंक नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने बताए । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको गुनासो गरे । स्थानियवासीले जंगली जनावरबाट बाली जोगाउन प्रभावकारी नियन्त्रण, क्षतिपूर्ति व्यवस्था तथा दीर्घकालीन संरक्षणका उपाय कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *