शैक्षिक वेथिति श्रृंखला–५ : विद्यालयमा अनिश्चितकालिन तालाबन्दी

मातृभूमी संवाददाता । १९ श्रावण दैलेख
भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका ७ खोर दैलेखमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । स्थानीय ८ जनाले विद्यालयमा अनियमितताको निष्पक्ष छानबिनको माग राखेर तालाबन्दी गरेका हुन् । विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको, आर्थिक अनियमितता, भ्रष्टाचार तथा शिक्षक–कर्मचारीको पारिश्रमिक नदिएको लगायतका विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको विद्यालयका शिक्षक शिक्षिकाले जनाएका छन् । विद्यार्थी, अभिभावक तथा सरोकारवालाको विद्यालयप्रतिको विश्वासमा गम्भीर असर परेको उनीहरुको भनाई छ ।
आर्थिक अनियमितताको निष्पक्ष छानबिन, वि.सं. २०६८ सालतिर विषय परिवर्तन गरी सेवा गरेको विषयको सत्यतथ्य सार्वजनिक, वि.सं. २०७० देखि २०८२ सालसम्मको आय–व्यय तथा लेखा परिक्षण सार्वजनिक गर्न स्थानीय शम्शेर शाहीले माग गरे । साथै भारतको दरभंगा क्याम्पसबाट प्राप्त शैक्षिक प्रमाणपत्रको समकक्षता, नमुना विकास कार्यक्रम अर्न्तगत खर्च, खरिद प्रक्रिया तथा निर्माण कार्यको गुणस्तरमाथि छानबिन गर्नुपर्ने अर्का स्थानीय शिशिरजंग शाहीले माग गरेका छन् ।
त्यसैगरी तीन जना शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराइएको विषय, विद्यालयको नाममा रहेको करिब ३–४ लाख ऋण, शिक्षक अभिभावक संघ गठन हुन नसकेको कारण तथा पुराना विद्यालय भवन भत्काउँदाको काठ, ढुंगा लगायत सामग्रीको बिक्री तथा आम्दानी–खर्चको विवरण सार्वजनिक गर्नुपर्ने अर्का स्थानिय टोप बहादुर शाहीले माग गरे ।
आन्दोलनरत पक्षले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक, आवश्यक कानुनी प्रक्रिया अघि बढाई सम्पूर्ण अभिभावकसँग खुला अन्तरक्रिया तथा लिखित प्रतिबद्धता प्राप्त नभएसम्म विद्यालयमा लगाईएको ताला नखोलिने उनीहरुको माग छ ।
स्थानीयले विभिन्न दश बुँदे माग राखेर विद्यालयमा तालावन्दी गरेका हुन् । विद्यालयमा तालावन्दीको विषयमा वुझ्‌न विद्यालयका प्रधानाध्यापक पुर्णबहादुर भण्डारी र भगवतीमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर बहादुर वलिलाई फोन सम्पर्क गर्दा यो समाचार तयार पार्दासम्म फोन उठेको छैन ।

पठनपाठन प्रभावित

विद्यालयमा तालाबन्दी भएपछि पठनपाठन प्रभावित भएको छ । पढ्नका लागि विद्यालय आएका विद्यार्थीहरु गेटबाटै फर्किएका छन् । उनीहरुले विद्यालयको शैक्षिक वातावरण दिनप्रतिदिन बिग्रदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यालय प्रशासन, व्यवस्थापन समिति र कर्मचारीहरुबीच भएको विवादका कारण विद्यार्थीहरुको भविष्यमाथि खेलवाड नगर्न विद्यार्थीहरुले अनुरोध गरेका छन् । विद्यालयमा पढाई नै नहुनु दुःखद् भएको विद्यार्थीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *