सवारी दुर्घटना न्यूनीकरण गर्न दैलेखमा लापसे र मापसे परीक्षणमा कडाइ
मातृभूमी संवाददाता । २१ श्रावण दैलेख
दैलेखमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा कडाइ गरिएको छ । नारायण नगरपालिका १, मालपोत कार्यालय नजिक लापसे तथा मापसे परीक्षण अभियान सञ्चालन गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको सहयोग, जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय, स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा उक्त अभियान सञ्चालन गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवण विकले सवारी दुर्घटना रोक्न कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिप्रति प्रहरीले ‘शून्य सहनशीलता’ (जिरो टोलरेन्स) को नीति अवलम्बन गरेको उनको भनाइ छ । चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा लिएर प्रहरीसँग सहकार्य गर्न समेत डीएसपी विकले आह्वान गरे ।
सुर्खेत–दैलेख सडकखण्डमा हुने सवारी दुर्घटना कम गर्न स्थानीय सरकारको दायित्व अर्न्तगत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष सन्देश श्रेष्ठले बताए । लापसे जाँच गर्ने ‘ड्रग यूरिन टेस्ट किट’ धेरै महँगो हुने भएकाले यो अभियान सञ्चालन गर्न केही जटिलता रहेको उनको भनाइ छ । यद्यपि, अभियानलाई निरन्तरता दिन नगरपालिका, वडा र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरे । यो अभियानले चालकहरूमा सचेतना जगाउनुका साथै दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास वडाध्यक्ष श्रेष्ठले व्यक्त गरे ।
मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । चालक तथा सहचालकले लापसे वा मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले विशेष निगरानी बढाइएको उनले बताए । दैनिक जसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गरेको कार्यालय प्रमुख गुरुले उनले बताए ।
यसैगरी यात्रुवाहक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, बढी भाडा लिए/ नलिएको, सवारी चालक अनुमतिपत्र लाइसेन्स भए/नभएको जस्ता विषयमा अनुगमन गरेको उनले बताए । उनका अनुसार चालकहरूको लापसे तथा मापसे जाँच गर्ने यो अभियान आगामी दिनमा पनि आकस्मिक रूपमा निरन्तर सञ्चालन गरिने छ ।

