तल्लो डुङ्गेश्वर पुलमा ट्रकले मोटरसाइकल किच्दा दुर्घटना, कर्णाली राजमार्ग अवरुद्ध
मातृभूमी संवाददाता २३ श्रावण दैलेख
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरस्थित पुलमा ट्रकले मोटरसाइकललाई किच्दा दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकको ब्रेक फेल भई पुल पार गर्दै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकललाई च्यापेको हो ।
दुर्घटनामा परेर मोटरसाइकल र त्यसका चालक दुवै ट्रकमुनि थिचिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । ट्रकले नराम्ररी च्यापेका कारण चालकलाई तत्काल बाहिर निकाल्न नसकिएको प्रमुख गुरुले बताए । मृतकको पहिचान अझै खुल्न सकेको छैन ।
दुर्घटनाका कारण पुलमा तेर्सिएको ट्रक हटाउन नसक्दा कर्णाली राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । अहिले क्रेनको सहयोगमा ट्रक हटाएर अवरुद्ध सडक खुलाउने र किचिएका चालकको शव निकाल्ने प्रयास भइरहेको कार्यालय प्रमुख गुरुले बताए ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट टोली खटिएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखबाट समेत थप प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

