ग्यासको अभाव देखिएपछि दैलेख बजारमा छड्के अनुगमन

मातृभूमी संवाददाता । २४ श्रावण दैलेख
दैलेख सदरमुकाममा खाना पकाउने ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ । दैलख बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले ग्यास डिलर तथा बिक्री केन्द्रहरुको अनुगमन गरेको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रावण कुमारी विश्वकर्मा सहितको टोलीले दैलेख सदरमुकाममा ग्यास डिलर तथा विक्रि केन्द्रको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले जानकारी दिए ।
अनुगमनका क्रममा डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको र डिलर सञ्चालकले कम्पनीबाटै आवश्यकता अनुसार ग्यास नआएको बताएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए । ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले समेत आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको उनले बताए ।
अनुगमनका क्रममा प्रशासनले एउटा परिवारलाई एक पटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलरलाई निर्देशन दिईएको छ । ग्यास पुन डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक रुपमा वितरण गर्न समेत डिलरलाई निर्देशन दिइएकाे प्रमुख जिल्ला अधिकारी आनन्द सारुको भनाइ छ ।
डिलरबाट सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास खरिद गर्नु परेको गुनासो समेत आएको उनले बताए । डिलर तथा बिक्री केन्द्रबाट मात्रै ग्यास बिक्री गर्न समेत उनले निर्देशन दिए । बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने उनले बताए ।
कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको भेरी ग्यास डिलर एलिजा स्टोरका संचालक यज्ञराज रेग्मीले बताए । कम्पनीले पठाएको परिमाण अनुसार ग्यास ल्याएर बिक्री गरिरहेको तर, केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको उनले बताए ।
यस्तै उनले कम्पनीबाटै माग अनुसार ग्यास नआएका कारण समस्या भएको बताए । कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुँदा आएको ग्यासले सबैलाई पुर्‍याउन कठिन भएको संचालक रेग्मीले गुनासो समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *