पहिरोले बस्ती जोखिममा, त्रासमा स्थानीय
मातृभूमी संवाददाता । ०६ भाद्र दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिका ५ को थापा टोलमा पहिरो गएपछि स्थानीयवासी त्रासमा रात विताउन बाध्य भएका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण थापा टोलका केही घर उच्च जोखिममा परेपछि स्थानीय त्रासमा रात विताउन वाध्य भएका हुन् ।
पहिरोले घर, जग्गामा क्षती पुर्याएको स्थानीय सेरबहादुर भण्डारीले बताए । उनले थापा टोलका पाँच घर पहिरोको जोखिममा रहेको बताए । उनले पहिरोको जोखिमका कारण राति घरमा बस्न नसक्ने भएपछि आफू आफन्तको घरमा बस्न थालेको बताए । उनले घर, आँगन समेत चर्किएर जोखिम बढेको बताए ।
पहिरोका कारण घरमा क्षति पुगेको गाउँपालिकालाई जानकारी आएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले बताए । पहिरोबाट प्रभावित घरपरिवारको अवस्थाबारे जानकारी लिएर आवश्यक सहयोग गरिने अध्यक्ष शाहले जानकारी दिए । उनले जोखिममा रहेका परिवारलाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न समेत आग्रह गरे ।
यस्तै पहिरोका कारण ठाटिकाँध गाँउपालिका ५ को कठायत टोलमा खानेपानी अवरुद्ध भएको छ । कठायत टोलमा आपूर्ति हुँदै आएको पाइपलाइनमा पहिरो क्षती पुर्याएपछि खानेपानी अवरुद्ध भएको हो । स्थानीयले अवरुद्ध खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

