दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा तीज विषेश कार्यक्रम हुँदै
मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा तीज विशेष कार्यक्रम हुने भएको छ । डुङ्गेश्वर गाउँपालिका २ को आर्थिक सहयोग तथा फूलबारी सामुदायिक अध्ययन केन्द्रको समन्वयमा यहि भदौ १९ गते तीज विषेश कार्यक्रम हुने भएको हो । स्थानीय मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको वडाध्यक्ष यम बहादुर विष्टले जानकारी दिए ।
कार्यक्रममा वडाभित्र रहेका १४ वटै आमा समूहका दिदीबहिनीहरूले आफ्नो मौलिक कला तथा प्रतिभा प्रस्तुत गर्ने उनले बताए । कार्यक्रमलाई मर्यादित र सन्देशमूलक बनाउन विशेष नियमहरू समेत तय गरिएका छन् । प्रतियोगितामा गाइने गीतहरू आफ्नै मौलिक हुनुपर्ने, मादलको प्रयोग अनिवार्य हुनुपर्ने र गीतको विषय वस्तुमा पोषण तथा स्वास्थ्य सम्बन्धी कुराहरू समेटिएका प्रस्तुतिलाई प्राथमिकता दिइने वडाध्यक्ष विष्टको भनाई छ ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने आमा समुहहरूका लागि पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समुहले क्रमशः नगद ६ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने वडा सचिव दुर्योधन बि.सी.ले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने अन्य सबै बाँकी समुहहरूलाई प्रोत्साहन स्वरूप जनही १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
मौलिक कला–संस्कृतिको संरक्षणका साथै तीजको अवसरमा दिदीबहिनीहरूबीच भातृत्व र खुसीयाली साटासाट गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ । फूलबारी सामुदायिक अध्ययन केन्द्र र वडा कार्यालयले सम्पूर्ण दिदीबहिनी तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल बनाउन अनुरोध गरिएको छ ।

