दैलेख अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख
दैलेख अस्तालमा भाइरल ज्वरो तथा रुघाखोकीका बिरामीहरूको चाप बढ्न थालेको छ । केही दिनदेखी दैलेख अस्पतालमा ज्वरो, रुघाखोकी, टाउको र घाँटी दुख्ने जस्ता समस्या भएका बिरामीहरूको चाप बढ्न थालेको हो । दैलेख अस्पतालमा भाइरल ज्वरोका विरामीको संख्या दैनिक एक सय भन्दा वढी आउने गरेको दैलेख अस्पतालका प्रमुख डा.मनोज विश्वकर्माले जानकारी दिए । अस्पतालको आकस्मिक कक्ष र ओपिडी सेवामा आउने अधिकांश बिरामीहरूमा रुघाखोकी र उच्च ज्वरोकै मुख्य समस्या देखिने गरेको उनले बताए ।
हरेक वर्षको साउन, भदौमा भाइरल ज्वरोका बिरामीहरूको संख्या बढ्ने गरेको डा. विश्वकर्माले वताए । मौसममा आएको परिवर्तन र बषात्‌को समयमा सर्वसाधारणले दूषित पानी पिउने गरेका कारण ज्वरो तथा रुघाखोकीका बिरामीको संख्या बढ्ने गरेको डा. विश्वकर्माले जानकारी दिए । लगातारको झरी र मौसममा आएको उतारचढावले गर्दा भाइरस सक्रिय हुँदा भाईरल ज्वरो तथा रुघाखोकी जिल्लाका ग्रामिण क्षेत्रमा समेत फैलिएको डा. विश्वकर्माले वताए ।
उनले ज्वरो र रुघाखोकीबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भएको बताए । अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पताल प्रशासनले आवश्यक औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापन चुस्त राखेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *