बडाखोला झरनाको रौनकः झरना क्षेत्रमा पूर्वाधार अभाव

जित बहादुर थापा/रोशन
दैलेखको भगवतीमाई गाउँपालिका ७ स्थित बडाखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख रोजाई बन्न थालेको छ । बडाभैरबको लेकबाट बगेर आउने कञ्चन र स्वच्छ पानी वर्षायाम सुरु भएसँगै ठूलो र लोभलाग्दो रूपमा खस्न थालेपछि यहाँ अवलोकन गर्न पुग्नेहरूको भीड लाग्न थालेको हो ।
जिल्ला सदरमुकामबाट नारायण नगरपालिका ९ लोहोरे हुँदै तप्लुङ्ग जाने सडककै छेउमा यो झरना अवस्थित छ । सामाजिक सञ्जाल र टिकटकमा यसको प्रचार भएपछि दैनिक रूपमा झरना छेउमा उभिएर फोटो, भिडियो र रिल्स बनाउनेको लर्को लाग्ने गरेको भगवतीमाई गाउँपालिका ७ का वडाध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । अग्लो स्थानबाट सेतो निश्चल पानी खस्ने दृश्य निकै रमणीय देखिएको उनले बताए । यसको संरक्षण, सम्वद्र्धन र योजनाबद्ध प्रचारका लागि वडाले आवश्यक बजेट र नीति ल्याउने तयारी गरिरहेको वडाध्यक्ष थापाले बताए ।
पर्यटक आए पनि बस्ने, खाने र विश्राम गर्ने ठाउँ नहुँदा उनीहरू तत्कालै फर्किनु पर्ने बाध्यता रहेको स्थानीय गणेश थापाले बताए । झरना आकर्षक भए पनि सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको र सडक मार्गलाई थप व्यवस्थित बनाउनुपर्ने अर्का स्थानीय टीकाराम बि.क.ले बताए । वर्षामा बाटो हिलाम्मे हुने र झरनाको फेदसम्म पुग्न सुरक्षित सिँढी वा रेलिङ नभएको उनले बताए ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले बडाखोला झरनालाई पालिकाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने प्रतिबद्धता जनाए । यस क्षेत्रमा पर्यटकीय सम्भावना प्रचुर रहेको उनले बताए । पर्यटकको चहलपहल बढे पनि पूर्वाधार विकास नहुँदा समस्या हुने गरेको अध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *