दैलेखमा अटो बचाउन खोज्दा पिकअप चालक बाढीमा बेपत्ता, खोजी कार्य जारी

मातृभूमी संवाददाता । ०९ भाद्र दैलेख
दैलेखको नारायण नगरपालिका ११, मध्यपहाडी राजमार्ग अर्न्तगत पर्ने विष्णेचौर खोलामा अटोलाई बाढीबाट जोगाउने क्रममा एक पिकअप भ्यानका चालक बेपत्ता भएका छन् । सोमबार राति करिब ९ः४० बजे खोलामा आएको अचानकको बाढीले उनलाई बगाएको हो ।
दैलेख बजारबाट भगवतीमाई गाउँपालिका ५ बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १७४८ नम्बरको अटो विष्णेचौर खोला तर्ने क्रममा फसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । अटोलाई भगवतीमाई ५ कट्टीका ३० वर्षीय कमल नेपालीले चलाएको उनले बताए ।
अटो खोलामा फसेको देखेपछि सोही दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०९०७ नम्बरको पिकअप डबल क्याबका चालक २८ वर्षीय टंक मगर आफ्नो सवारी रोकेर अटो तार्न सहयोग गर्न पुगेका थिए । अटोलाई खोलाबाट निकाल्ने प्रयास गरिरहेकै बेला अचानक आएको ठुलो बाढीले अटो र सहयोग गरिरहेका पिकअप चालक मगर दुवैलाई बगाएको थियो ।बाढीले बगाएको अटो सडकभन्दा करिब १० मिटर तल खोलामा फेला परेको छ भने चालक मगर अझै बेपत्ता रहको कार्यालय प्रमुख गुरुले बताए ।
घटनास्थल अस्थायी प्रहरी पोष्ट लोहोरेबाट करिब ४ किलोमिटर पूर्वमा पर्दछ । घटना लगत्तै लोहोरे पोष्टबाट ४ जना र प्रहरी चौकी बेस्तडाबाट ४ जनाको टोली परिचालन गरिएको छ । अहिले भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना खड्का सहित स्थानीय बासिन्दा र सुरक्षाकर्मीको करिब १५/२० जनाको टोली बेपत्ता चालक मगरको खोजी कार्यमा निरन्तर जुटिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *