कर्णाली राजमार्गमा ट्राफिक चेकिङ तिव्र : मापसे र लापसे जाँचमा कडाई

मातृभूमी संवाददाता । ०९ भाद्र दैलेख
दैलेखमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा कडाइ गरिएको छ । गुँरास गाउँपालिका २ स्थित कर्णाली राजमार्गमा हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यले लापसे तथा मापसे परीक्षणमा कडाई गरिएको हो ।
लापसे तथा मापसे परीक्षणका क्रममा ८५ वटा सवारी साधनका चालकहरूको मापसे तथा लापसे जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जयसिंह गुरुले जानकारी दिए । उनले लापसे परीक्षण गरिएका तिन जनाको रिपोर्ट नेगेटिभ आएको बताए । मापसे गरेर सवारी चलाउने १ जना चालकलाई नियन्त्रणमा लिई कानुनी कारबाही गरिएको ट्राफिक प्रमुख गुरुले जानकारी दिए ।
यस्तै तीव्र गति र लापरबाहीका साथ सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रमुख गुरुले बताए । दुर्घटनाको प्रमुख कारक मानिने क्षमता भन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले अतिरिक्त सिट माथि पनि कडा कदम चालेको ट्राफिक प्रमुख गुरुको भनाई छ ।
नियम विपरीत सवारी साधन भित्र थप गरिएका (अतिरिक्त) ९ वटा सिटहरू चेकिङकै क्रममा निकाल्न लगाई ती सवारी साधनहरूलाई सचेत गराइएको उनले बताए । कर्णाली राजमार्गमा यात्रा सुरक्षित बनाउन र दुर्घटना न्युनिकरण गर्न यस्ता आकस्मिक चेकिङ कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए । सवारी चालकहरूलाई जिम्मेवार बनेर मात्र स्टेरिङ समात्न र यात्रुहरूलाई पनि सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्न ट्राफिक प्रमुख गुरुले आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *