फरार अभियुक्त १४ वर्षपछि पक्राउ
मातृभूमी संवाददाता । ३१ भाद्र दैलेख
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १४ वर्ष पछि पक्राउ परेका छन् । १४ बर्ष अघि प्रेमिकाको हत्या गरी फरार रहेका दैलेखको दुल्लू नगरपालिका १० गमौडीका ३२ वर्षीय डिलबहादुर खड्कालाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।
यौन सम्बन्धबाट गर्भवती भएकी प्रेमिका सम्झना सुनारलाई जात नमिलेको कारण घरमा भित्र्याउन नचाहेर हत्या गरेको भनी पीडित पक्षको उजुरीका आधारमा खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
दैलेख सदरमुकाममा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी श्रवण कुमार विश्वकर्माले जानकारी दिए । हत्या घटनापछि डिलबहादुर भारतमा बस्दै आएका थिए ।

