डुङ्गेश्वरमा तीज विशेष पारणी मेला सम्पन्न

जित बहादुर थापा/रोशन भाद्र ३१ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका १ को आयोजनामा वडास्तरीय ‘तीज विशेष पारणी मेला’ सम्पन्न भएको छ । तीजको भोलिपल्ट पञ्चमीका दिनमा चुप्रा गैरीको प्राङ्गणमा विभिन्न झाँकी, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक मौलिक खेलकुद प्रतियोगिता सहित मेला सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले गरे । कार्यक्रममा बोल्दै उनले तीज पर्वले समाजमा आपसी सद्भाव, भ्रातृत्व तथा सांस्कृतिक एकताको भावना अभिवृद्धि गर्ने बताए । स्थानीय स्तरमा आयोजना गरिने यस्ता मेला तथा मौलिक खेलकुद प्रतियोगिताले रैथाने कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने सभापति खत्रीले बताए ।
मेलामा आयोजित भाले ‘तान्ने प्रतियोगिता’मा डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीका रुद्रबहादुर खत्री विजयी भएको वडाध्यक्ष श्याम रानाले जानकारी दिए । त्यस्तै, दर्शकलाई मनोरञ्जन प्रदान गर्ने ‘श्रीमती बोकेर कुद्ने प्रतियोगिता’मा पनि लाँकुरीकै कमल बिष्ट विजयी भएको उनले बताए ।
मेलाको अर्को आकर्षण बनेको ‘डोरी तान्ने प्रतियोगिता’मा पूर्वसैनिकको अनुभवी टोलीलाई पराजित गर्दै लाँकुरीका हिमबहादुर खत्री र सन्तोष खत्रीको संयुक्त टोली विजयी भएको वडाध्यक्ष रानाले जानकारी दिए । विजेता टोलीले पुरस्कार स्वरूप २० केजी तौलको खसी प्राप्त गरेको उनले बताए ।
स्थानीय मौलिक संस्कृति, आपसी सद्भाव र मनोरञ्जनलाई प्राथमिकता दिँदै आयोजना गरिएको पारणी मेलाले गाउँघरमा तीजको रौनक थपेको छ । यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *