कर्णालीका पुर्वकानुन मन्त्री शाहीको निधन
मातृभूमी संवाददाता । ०१ असाेज दैलेख
कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । पुर्वमन्त्री शाहीको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा निधन भएको हो । उनलाई हृदयघात भएपछि उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको उनका छोरा गणेश बहादुर शाहीले जानकारी दिए ।
शाही नेपाली कांग्रेस दैलेखको पूर्व जिल्ला सभापति र तत्कालीन जिल्ला विकास समिति दैलेखको सभापति समेत बनेका थिए । दैलेखको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका शाही नेपाली कांग्रेसको संगठन निर्माण तथा जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
शाहीको निधनले नेपाली कांग्रेस दैलेख सहित जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले वताए । उनकाे निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक र विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

