दैलेखमा क्षयरोगका बिरामी बढ्दै, बालबालिका पनि जोखिममा

मातृभूमी संवाददाता । ०२ असोज दैलेख
दैलेखमा क्षयरोगको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा क्षयरोगका बिरामीको संख्या बढेको पाइएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ सय ६४ जनामा क्षयरोग संक्रमण पुष्टि भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा १ सय ४४ जना क्षयरोगका बिरामी भेटिएकोमा पछिल्लो एक वर्षमा २० जना क्षयरोगका बिरामी थपिएका हुन् । तथ्यांक अनुसार १ सय ६४ जना क्षयरोगका बिरामीमध्ये नौ जना १५ वर्षमुनिका बालबालिका रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले जानकारी दिए । उनले क्षयरोग विशेषगरी संक्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कणसँगको सम्पर्कबाट सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक सम्पर्कमा रहेका बालबालिका जोखिममा पर्ने गरेको उनले बताए ।
संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेका ३२ जना बालबालिकामा सम्भावित क्षयरोगको अवस्था देखिएको र थप अनुसन्धान तथा परीक्षण गर्दा तीमध्ये दुई जनामा क्षयरोगको संक्रमण पुष्टि भएको अधिकारीले बताए । उनका अनुसार दुल्लु नगरपालिकामा सबैभन्दा धेरै २८ जना क्षयरोगका बिरामी भेटिएका छन् । आठबिस नगरपालिकामा २३, ठाटीकाँध गाउँपालिकामा २१, गुराँस गाउँपालिकामा २१, नारायण नगरपालिकामा १७, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १६, भगवतीमाई गाउँपालिकामा १५, भैरवी गाउँपालिकामा ८, डुंगेश्वर गाउँपालिकामा ८, नौमुले गाउँपालिकामा ४ र महाबु गाउँपालिकामा ३ जना बिरामी भेटिएका छन् ।
क्षयरोगलाई समाजको सामाजिक, आर्थिक तथा स्वास्थ्य अवस्थाको सूचकका रूपमा समेत हेर्ने गरिएको मेडिकल रेर्कडर अधिकारीले बताए । उनले सामाजिक तथा आर्थिक अवस्था कमजोर भएका परिवारमा पोषणको कमी र स्वास्थ्य सेवामा पहुँचको अवस्थाले पनि क्षयरोगको जोखिममा प्रभाव पार्न सक्ने बताए । गरिबी र कुपोषण भएका समुदायमा क्षयरोग बढी देखिने गरेको अधिकारीको भनाइ छ ।
उनले १५ वर्ष मुनिका नौ जना बालबालिकामा मध्ये ६ जना बालक र तीन जना बालिकामा क्षयरोगको संक्रमण रहेको बताए । लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, राति पसिना आउने लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *