अब डुङ्गेश्वर गाउँपालिकाबाटै कर सम्बन्धी सेवा प्रवाह


जित बहादुर थापा/रोशन ०२ असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा अब कर सम्बन्धी विभिन्न सेवा उपलब्ध हुने भएको छ । नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा कर सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय, सुर्खेत र डुङ्गेश्वर गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने व्यवस्था मिलाउने भएको छ । त्यस्तै, स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाका वरिष्ठ शाखा अधिकृत तथा सूचना अधिकारी देवेन्द्र खड्काले जानकारी दिए ।
त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि आवश्यक कागजात संकलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्र सम्बन्धी प्रक्रिया सहजीकरण गर्ने तथा कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने लगायतका सेवा पनि गाउँपालिकाबाटै उपलब्ध हुने सूचना अधिकारी खड्काले बताए ।
गाउँपालिकाले करदाता दर्ता सम्बन्धी विवरण संशोधन तथा अद्यावधिक गर्ने कार्यका साथै कर सम्बन्धी शिक्षा र सचेतना मूलक कार्यक्रम सञ्चालनमा समेत सहकार्य गर्ने उनले जानकारी दिए । यसबाट स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क सम्बन्धी कानुनी प्रक्रिया बुझ्न तथा आवश्यक सेवा लिन सहज हुने अपेक्षा गरिएको सूचना अधिकारी खड्काको भनाइ छ ।
स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले बताइन् ।
त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीसम्सेर राना मगरले समझदारीपत्रमा उल्लेख गरिएका विषय अनुसार कर सम्बन्धी काम गाउँपालिकाबाट प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । सेवाग्राहीलाई लक्षित गरी गरिएको यस सहकार्यले राजस्व प्रशासनलाई नागरिकमैत्री बनाउनुका साथै सेवा प्रवाहलाई छिटोछरितो बनाउन र संघीय संरचना अनुसार अधिकार कार्यान्वयनमा समेत सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत राना मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *