दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नागरिक कार्यक्रम सुनुवाइ
जित बहादुर थापा/रोशन । असोज ०७ दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका १ चुप्रामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजना तथा प्रहरी चौकी चुप्रा र डुङ्गेश्वर गाउँपालिका १ को समन्वयमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय नागरिकले शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी–नागरिक सम्बन्ध तथा समुदायमा देखिएका विभिन्न समस्याबारे जिज्ञासा र सुझाव राखेका थिए । नागरिकका जिज्ञासा तथा प्रश्नको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकले सम्बोधन गरेका थिए ।
डीएसपी विकले नागरिकबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रहने उनले बताए । चाडपर्व नजिकिँदै गएकाले जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।
नागरिकको सहयोगबिना शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकिने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए । नागरिकका समस्या तथा गुनासा सुन्न र सुरक्षा निकायको कामप्रति नागरिकको धारणा बुझ्न नागरिक सुनुवाइ कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए । चाडपर्वका समयमा भीडभाड बढ्ने र विभिन्न किसिमका घटना हुनसक्ने भएकाले सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । शान्ति सुरक्षा कायम गर्न प्रशासन, प्रहरी, स्थानीय तह र नागरिकबीच निरन्तर समन्वय आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सारुले बताए ।
शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्य आवश्यक रहेको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए । नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भए पनि स्थानीयस्तरमा हुने अपराध तथा सामाजिक विकृति नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे । नागरिकका समस्या, गुनासा र सुझाव सम्बन्धित निकायसम्म पुर्याउन नागरिक सुनुवाइ कार्यक्रम प्रभावकारी हुने अध्यक्ष केसीको भनाइ छ ।
वडा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने डुङ्गेश्वर गाउँपालिका १ का वडाध्यक्ष श्याम रानाले बताए । स्थानीयस्तरमा देखिने समस्या समयमै पहिचान गरी समाधान गर्न प्रहरी, जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद आवश्यक रहेको उनको भनाइ छ । नागरिक सुनुवाइ मार्फत स्थानीयवासीले आफ्ना समस्या, गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुरक्षा निकाय समक्ष राख्न पाएको भन्दै उहाँले कार्यक्रमलाई सकारात्मक रूपमा लिनुपर्ने वडाध्यक्ष रानाले बताए ।
डुङ्गेश्वर गाउँपालिका १ स्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

