दैलेखको डुङ्गेश्वर गाउँपालिकामा पोषण लेखाजोखा अभियान सञ्चालन

जित बहादुर थापा/रोशन । ०९ असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान तथा वृद्धि अनुगमनका लागि पोषण लेखाजोखा अभियान सञ्चालन गरिएको छ । एरेष्ट क्वालव दैलेखको आर्थिक सहयोग तथा डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा यही असोज ७ गतेदेखि १४ गतेसम्म अभियान सञ्चालन गरिएको हो ।
अभियान मार्फत बालबालिकाको उमेर अनुसार शारीरिक वृद्धि तथा पोषण अवस्थाको मूल्यांकन गरी कुपोषणको अवस्था समयमै पहिचान गरिने डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण खत्रीले जानकारी दिए । पोषण लेखाजोखाका क्रममा बालबालिकाको तौल, उचाइ वा लम्बाइ, शरीर सुन्निएको अवस्था तथा मध्य पाखुराको परिधि मापन गरिने उनले बताए । आवश्यकता अनुसार टाउको तथा छातीको परिधि समेत जाँच गरी स्वास्थ्य अवस्थाको अभिलेख राखिने स्वास्थ्य शाखा प्रमुख खत्रीले बताए ।
यस्तै, गर्भवती महिला, सुत्केरी आमा तथा ६ महिनासम्मका शिशुलाई स्तनपान गराइरहेका महिलाको समेत मध्य पाखुराको परिधि मापन गरी पोषण अवस्थाको मूल्यांकन गरिने वरिष्ठ जनस्वास्थ्य निरीक्षक दीपक रावतले बताए । शरीर सुन्निएको अवस्था देखिएमा त्यसको कारण पहिचान गरी पोषणजन्य समस्या भए–नभएको समेत जाँच गरिने उनले जानकारी दिए ।
पोषण लेखाजोखा तथा वृद्धि अनुगमनबाट बालबालिकाको पोषण स्थिति, उमेर अनुसार तौल तथा उचाइको वृद्धि र सम्भावित स्वास्थ्य समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने रावतले बताए । समस्या देखिएका बालबालिका तथा महिलालाई आवश्यक परामर्श तथा उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरिने उनले बताए ।
अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषणको अवस्था शीघ्र पहिचान गरी आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्नु रहेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक रावतले बताए । उनले अभिभावक तथा सम्बन्धित महिलालाई नियमित स्वास्थ्य तथा पोषण जाँच गराउन आग्रह गरे ।
बालबालिकाको वृद्धि अनुगमनका क्रममा उमेर अनुसार तौल, उचाइ अनुसार तौल, उमेर अनुसार उचाइ तथा मध्य पाखुराको परिधि लगायतका सूचकका आधारमा पोषण अवस्थाको मूल्यांकन गरिने उनले बताए । जन्मदेखि २४ महिनासम्मका बालबालिकाको नियमित तौल लिएर वृद्धि अनुगमन कार्ड अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ ।
‘समयमै पहिचान र सही उपचार, कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नारा सहित सञ्चालन भइरहेको अभियानले बालबालिकामा कुपोषणको जोखिम न्यूनीकरण गर्दै स्वस्थ वृद्धि र विकासमा सहयोग पुग्ने लाकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण विष्टले बताए । उनले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा लगेर नियमित स्वास्थ्य तथा पोषण जाँच गराउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *