कांग्रेस डुङ्गेश्वर गाउँपालिका सभापतिमा खत्री सर्वसम्मत
मातृभूमी संवाददाता । ०९ असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा गंग बहादुर खत्री सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अर्न्तगत भएको गाउँपालिका अधिवेशनबाट खत्रीलाई पार्टीका स्थानीय प्रतिनिधिहरूको सहमतिमा सभापतिमा चयन गरिएको हो ।
डुङ्गेश्वर गाउँपालिकाका १ देखि ६ वटै वडाका वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा अन्य स्थानीय प्रतिनिधिहरूबीच भएको छलफल र सहमतिपछि खत्रीलाई गाउँपालिका सभापतिको जिम्मेवारी दिइएको बताइएको छ । सर्वसम्मत नेतृत्व चयनसँगै स्थानीय तहमा पार्टीलाई थप संगठित र एकताबद्ध बनाउने अपेक्षा गरिएको छ ।
सर्वसम्मत निर्वाचित भएपछि नवनिर्वाचित सभापति खत्रीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा पार्टीका नेता, प्रतिनिधि तथा क्रियाशील सदस्यहरूप्रति आभार व्यक्त गरेका छन् । उनले पार्टीभित्र देखिएका विगतका मतभेद र मनमुटावलाई अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रत्येक वडा, टोल तथा पार्टीका सबै तहका कार्यकर्तालाई एकताबद्ध बनाएर नेपाली कांग्रेसलाई डुङ्गेश्वरमा थप मजबुत बनाउने बताए । पार्टीलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ ऊर्जाका साथ अघि बढाउने नवनिर्वाचित सभापति खत्रीको भनाइ छ ।
युवाको अपेक्षा र भावनालाई सम्बोधन गर्दै अग्रज नेताको सम्मान तथा जनताको सुख–दुःखमा साथ दिने पार्टीका रूपमा स्थानीय कांग्रेसलाई अघि बढाउने बताए । पार्टी संगठनलाई बलियो बनाउन कार्यकर्ताबीच समन्वय, सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ छ ।
सभापतिको जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेकोमा खत्रीले क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, अग्रज नेतागण तथा क्रियाशील सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
आगामी दिनमा कार्यकर्ताको भावना, अपेक्षा र विश्वासलाई कदर गर्दै पार्टी संगठन विस्तार, कार्यकर्ताबीच एकता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

