लगातार वर्षापछि दैलेखमा रात्रीकालीन सवारी साधन आवागमन बन्द

मातृभूमी संवाददाता । ०९ असोज दैलेख
दैलेखमा लगातार भइरहेको वर्षाका कारण सडक भासिने, पहिरो तथा ढुंगा खस्ने र रूख ढल्ने जोखिम बढेपछि रात्रीकालीन सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सूचना जारी गर्दै यही असोज ९ गते शुक्रवार साँझ ६ बजेदेखि असोज १० गते शनिवार बिहान ८ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आवागमन बन्द गरिएको जनाएको छ ।
लगातारको वर्षाका कारण जिल्लाका राजमार्ग, पहाडी तथा भित्री सडक खण्डमा विभिन्न किसिमका जोखिम बढेकाले सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रावण कुमार विकले जानकारी दिए । वर्षाका कारण सडक भासिने, पहिरो जाने, माथिबाट ढुंगा खस्ने तथा सडकमा रूख ढल्ने सम्भावना रहेकाले यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राख्दै रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए ।
लगातार वर्षा भइरहेको अवस्थामा सडकको अवस्था जुनसुकै बेला बिग्रन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न डीएसपी विकले आग्रह गरे । विशेषगरी जिल्लाका ग्रामीण तथा पहाडी क्षेत्रमा सडकको अवस्था जोखिमपूर्ण रहेको भन्दै रातको समयमा पहिरो, ढुंगा खस्ने तथा खोलानाला बढ्ने उनले बताए ।
अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने अवस्था आएमा समेत मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको  छ । चालकलाई तीव्र गतिमा सवारी नचलाउन, सडकको अवस्था अनुसार गति नियन्त्रण गर्न तथा सम्भावित जोखिम देखिएमा सुरक्षित स्थानमा सवारी रोक्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *