महाधिवेशन प्रतिनिधिका लागि भुपेन्द्र शाही मैदानमा

मातृभूमी संवाददाता । ११ असोज दैलेख
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका नेपाली कांग्रेसका नेता भुपेन्द्र शाही नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् । दैलेखको नारायण नगरपालिका २ जाहाकोट निवासी शाही लामो समयदेखि सामाजिक गतिविधि तथा कांग्रेसको संगठनात्मक अभियानमा सक्रिय रहँदै आएका छन् ।
सामाजिक क्षेत्रमा सक्रियता, राजनीतिक संगठन निर्माणमा निरन्तरको सहभागिता तथा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवका कारण शाहीको सार्वजनिक तथा राजनीतिक यात्रा बहुआयामिक देखिन्छ । उनले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा सामाजिक सरोकारका विषयमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।
शाही यसअघि नेपाल प्रेस युनियन दैलेख शाखाको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्ति हुन् । पत्रकारिता तथा सामाजिक क्षेत्रसँगको उनको लामो संलग्नताले पनि उनको सार्वजनिक जीवनलाई थप फराकिलो बनाएको देखिन्छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताका विषयमा समेत उनी सक्रिय रहँदै आएका छन् ।
यसअघि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शाही केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बनेका थिए । पार्टीको महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी भइसकेका शाहीले यस पटक पनि महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने उद्देश्य सहित आफू निर्वाचनमा सहभागी भएको शाहीले बताएका छन् । स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका जनसरोकारका विषयलाई पार्टीको नीति, कार्यक्रम र बहसमा प्रभावकारी रूपमा उठाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ ।
कांग्रेसभित्र संगठनलाई थप गतिशील बनाउन कार्यकर्ता तथा नेतृत्वबीचको समन्वय आवश्यक रहेको बताउँदै शाहीले पार्टीलाई समयानुकूल रूपमा अघि बढाउन महाधिवेशन प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् । उनले पार्टीका नीति, विचार र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै संगठनलाई जनतासँग अझ नजिक बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको संगठनात्मक सुधार, कार्यकर्ताको आवाजलाई प्राथमिकता र स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गर्दै शाहीले नेपाली कांग्रेसका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा मतदातासँग सहयोग र समर्थनका लागि आग्रह गरेका छन् ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा कार्यकर्ताका भावना र जनताका सवाललाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने शाहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *