खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि सुबास थापा मैदानमा
मातृभूमी संवाददाता । १२ असोज, दैलेख
नेपाली कांग्रेसका युवा नेता सुबास थापा पार्टीको १५ औँ महाधिवेशनका लागि खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन् । दैलेखको नारायण नगरपालिका ६ का थापा लामो समयदेखि कांग्रेसको संगठनात्मक गतिविधि तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
पार्टी संगठन निर्माण, कार्यकर्ता परिचालन तथा सामाजिक सरोकारका विषयमा सक्रिय थापाले कांग्रेसका विभिन्न अभियानमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै आएको बताएका छन् । उनी फुलबारी विद्या मन्दिरको व्यवस्थापनको जिम्मेवारीमा समेत रहेका छन् ।
थापाले राजनीतिलाई व्यक्तिगत लाभ वा आर्थिक उपार्जनको माध्यम नभई जनसेवाको माध्यमका रूपमा लिएको बताए । “राजनीतिलाई बृहत् सेवा गर्ने माध्यम ठानेँ, पैसा कमाउने माध्यम कहिल्यै ठानिनँ र भविष्यमा पनि ठान्ने छैन” उनले भने ।
खस आर्य समुदायको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी हुने अवसर पाए पार्टी संगठनभित्र कार्यकर्ताको आवाजलाई प्रभावकारी रूपमा उठाउने थापाको भनाइ छ । उनले स्थानीय तहमा रहेका कार्यकर्ता तथा जनताका समस्या र अपेक्षालाई पार्टीको नीति, कार्यक्रम तथा राष्ट्रिय बहससँग जोड्न आफूले भूमिका खेल्ने बताए ।
थापाले पार्टी संगठनलाई बलियो बनाउन नेतृत्व र कार्यकर्ताबीचको समन्वय, आपसी विश्वास र जिम्मेवारीबोध आवश्यक रहेको उल्लेख गरेका छन् । संगठनमा लामो समयदेखि योगदान गर्दै आएका कार्यकर्ताको सम्मान र उनीहरूको भूमिकालाई उचित स्थान दिनुपर्ने उनको धारणा छ ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए स्थानीय मुद्दा, जनसरोकार तथा संगठनका विषयलाई प्रदेश र केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने उम्मेदवार थापाले बताए । कांग्रेसलाई कार्यकर्ता र जनतासँग थप नजिक बनाउँदै संगठनलाई गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
थापाले आफ्नो उम्मेदवारीलाई संगठनात्मक सुधार, कार्यकर्ताको सम्मान, खस आर्य समुदायको प्रतिनिधित्व र पार्टी सुदृढीकरणसँग जोड्दै कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग, समर्थन तथा मतका लागि आग्रह गरे ।
उनको प्रचार सामग्रीमा “हजुरको मत मलाई, मेरो मत गगनलाई” भन्ने नारा उल्लेख गरिएको छ । साथै, खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अवसर प्रदान गर्न उनले क्षेत्रीय प्रतिनिधिहरूसँग अपिल समेत गरेका छन् ।

