महाधिवेशन प्रतिनिधिका लागि प्रकाशराज थापा मैदानमा
मातृभूमी संवाददाता । १२ असोज दैलेख
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अर्न्तगत दैलेख निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रकाशराज थापाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको आगामी महाधिवेशनका लागि थापाले खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थापाले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली कांग्रेसको संगठनलाई गाउँ तहदेखि नै मजबुत बनाउँदै पार्टीका नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताए । पार्टीको नीति, विचार र सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने दिशामा आफूले काम गर्ने उनको भनाइ छ ।
थापाले कांग्रेसको संगठन बलियो बनाउन स्थानीय तहमा रहेका नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउँदै तल्लो तहका कार्यकर्तासँग नियमित संवाद र समन्वयलाई प्राथमिकता दिने उल्लेख गरे । पार्टीभित्र कार्यकर्ताको योगदानको उचित सम्मान हुनुपर्नेमा जोड दिँदै उहाँले संगठनमा सक्रिय र प्रतिबद्ध कार्यकर्तालाई अवसर प्रदान गर्नुपर्ने धारणा राखे ।
युवाको सहभागिता र नेतृत्व विकासलाई समेत आफ्नो प्राथमिकतामा राख्ने थापाले बताए । उनले युवालाई पार्टीको संगठनात्मक गतिविधिमा थप सक्रिय बनाउँदै नयाँ पुस्तालाई कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्य–मान्यतासँग जोड्न आवश्यक रहेको उल्लेख गरे ।
जनतासँग पार्टीको सम्बन्धलाई अझ नजिक बनाउँदै कांग्रेसलाई जनताको सुख–दुःखमा साथ दिने राजनीतिक शक्तिका रूपमा थप प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने थापाको प्रतिबद्धता छ ।
खुलातर्फ उम्मेदवारी दिएका थापाले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवाको सहभागिता र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

