दैलेख–१ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा शैलेस श्रेष्ठको उम्मेदवारी
मातृभूमी संवाददाता । १२ असोज, दैलेख
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अर्न्तगत दैलेख निर्वाचन क्षेत्र नं. १ बाट शैलेस श्रेष्ठले खुला समूह अर्न्तगत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि पार्टीको संगठनात्मक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका श्रेष्ठले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने लक्ष्य सहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।
शालीन र सरल नेताको पहिचान बनाएका श्रेष्ठ दैलेख कांग्रेसमा परिचित नेताका रूपमा रहेका छन् । नारायण नगरपालिका वडा अध्यक्षको जिम्मेवारीमा रहँदा उनले स्थानीयस्तरमा विभिन्न जनमुखी काममा भूमिका निर्वाह गरेको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ । स्थानीय नागरिकका समस्या तथा आवश्यकतालाई सम्बोधन गर्ने विषयमा उनले निर्वाह गरेको भूमिकालाई उनको राजनीतिक सक्रियताको महत्वपूर्ण पक्षका रूपमा लिइन्छ ।
श्रेष्ठ नेपाली कांग्रेस दैलेखका वर्तमान कोषाध्यक्ष समेत हुन् । पार्टी संगठनभित्र विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका उनले संगठनलाई थप व्यवस्थित, मजबुत र कार्यकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको आन्तरिक संगठनलाई बलियो बनाउँदै कार्यकर्ता र जनताको भावनालाई पार्टी नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्याउने उनको भनाइ छ ।
महाधिवेशन प्रतिनिधिका उम्मेदवार श्रेष्ठले दैलेख निर्वाचन क्षेत्र नं. १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसँग आफूलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । आफूलाई प्राप्त हुने मत र जिम्मेवारीलाई पार्टी संगठन, कार्यकर्ता तथा क्षेत्रको हितमा समर्पित गर्ने उनले बताएका छन् ।
श्रेष्ठले महाधिवेशन पार्टीको संगठन, नेतृत्व र आगामी राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसर भएकाले सबै प्रतिनिधिको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । कांग्रेसलाई थप सुदृढ बनाउन नेता तथा कार्यकर्ताबीच सहकार्य, एकता र आपसी विश्वास आवश्यक रहेकोमा समेत उनले जोड दिएका छन् ।

