अर्थशास्त्रदेखि कानून र कोरियन भाषासम्म दख्खल, महाधिवेशन प्रतिनिधिमा पूर्णप्रसाद कोइराला

मातृभूमी संवाददाता । १२ असोज, दैलेख
अर्थशास्त्र, कानून, शिक्षा र कोरियन भाषाको अध्ययन तथा प्रशिक्षणसँगै सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका पूर्णप्रसाद कोइराला नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।
दैलेखको नारायण नगरपालिका १ का कोइरालाले कानून व्यवसाय, कोरियन भाषा प्रशिक्षण, सामाजिक गतिविधि तथा नेपाली कांग्रेसको संगठनात्मक अभियानमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । विविध शैक्षिक पृष्ठभूमि, अर्न्तराष्ट्रिय अनुभव र राजनीतिक सक्रियताका कारण उनको सार्वजनिक परिचय बहुआयामिक देखिन्छ ।
कोइरालाले त्रिभुवन विश्वविद्यालय अर्न्तगत अर्थशास्त्रमा स्नातकोत्तर, नेपाल ल क्याम्पसबाट एलएलबी तथा सुर्खेत शिक्षा क्याम्पसबाट बीएड अध्ययन गरेका छन् । दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट एनजीओ स्टडिजमा स्नातकोत्तर गरेका उनले कोरियन भाषा अध्ययन तथा प्रशिक्षणसमेत लिएका छन् ।
उनको अध्ययन, तालिम र व्यावसायिक अनुभव नेपालमा मात्र सीमित छैन । दक्षिण कोरिया सहित अमेरिका, जापान, चीन, भारत, थाइल्याण्ड, फिलिपिन्स, पलाउ र अष्ट्रेलिया लगायतका देशमा अध्ययन, तालिम, सम्मेलन तथा विभिन्न अर्न्तराष्ट्रिय कार्यक्रममा सहभागी भएका कोइरालाले प्रशिक्षकका रूपमा समेत भूमिका निर्वाह गरेका छन् ।
राजनीतिक रूपमा उनी नेपाली कांग्रेस दैलेख जिल्ला कार्यसमितिको सदस्यसमेत रहेका छन् । नारायण नगरपालिका १ को स्थानीय निर्वाचनमा प्रचारप्रसार समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका उनले स्थानीय निर्वाचनका लागि घोषणा–पत्र तथा संकल्प–पत्र निर्माणमा संयोजकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेका कोइराला कर्णाली प्रदेशसभाको सदस्यका लागि समानुपातिकतर्फ दैलेख तथा कर्णाली प्रदेशबाट सिफारिससमेत भएका थिए ।
कानून व्यवसायसँगै कोरियन भाषा प्रशिक्षणमा सक्रिय कोइरालाले दक्षिण कोरियामा अध्ययन, तालिम, अनुसन्धान तथा सर्वेक्षण सम्बन्धी विभिन्न गतिविधिमा समेत सहभागिता जनाएका छन् । शिक्षा, कानून, भाषा, सामाजिक सेवा, अर्न्तराष्ट्रिय अनुभव र राजनीतिक संगठनलाई आफ्नो सार्वजनिक यात्रासँग जोड्दै आएका उनले यसपटक महाधिवेशन प्रतिनिधिको भूमिकामार्फत पार्टीभित्र आफ्नो उपस्थिति थप प्रभावकारी बनाउने लक्ष्य लिएका छन् ।
कोइरालाले महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाए पार्टी संगठनलाई थप सुदृढ बनाउने, दैलेखका स्थानीय सवाललाई राष्ट्रिय राजनीतिक बहससँग जोड्ने तथा जिल्लाका विकासका मुद्दालाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने बताएका छन् । उनले आम बुद्धिजीवी तथा कांग्रेसका नेता–कार्यकर्तालाई आफ्नो उम्मेदवारीलाई मूल्यांकन गरी अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् । दैलेख कांग्रेसका एजेन्डालाई केन्द्रसम्म पुर्‍याउने र जिल्लाको विकासका विषयमा पार्टीभित्र तथा राष्ट्रिय तहमा बहस अघि बढाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *