महाधिवेशन प्रतिनिधिका लागि युवा नेता श्रेष्ठको अपिल

मातृभूमी संवाददाता । १२ असोज दैलेख
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको चुनावी सरगर्मी बढिरहेका बेला नारायण क्याम्पस दैलेखको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता बिनोद कुमार श्रेष्ठले आदिवासी जनजातितर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि मतदातासँग भावुक अपिल गरेका छन् ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय श्रेष्ठले समावेशी क्लस्टर अर्न्तगत आदिवासी जनजातितर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले संगठन निर्माण, सामाजिक गतिविधि र पार्टीको राजनीतिक अभियानमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
लामो राजनीतिक यात्रामा आफूले इमानदारिता, विचार र राजनीतिक मूल्य–मान्यतालाई यात्राको आधार बनाएको श्रेष्ठको भनाइ छ । राजनीतिक जीवनमा आर्जन गरेको सम्मान, सम्बन्ध र स्नेहलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्तिका रूपमा लिँदै उनले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि सारेका हुन् ।
आफ्नो उम्मेदवारीलाई मतदातासमक्ष प्रस्तुत गर्दै श्रेष्ठले राजनीतिक जीवनको महत्वपूर्ण परीक्षाको घडीमा आफूलाई मतदाताको साथ, विश्वास र माया आवश्यक रहेको बताएका छन् । उनले आदिवासी जनजाति क्लस्टरका प्रतिनिधिहरूसँग आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्न भावुक अपिल गरेका छन् । श्रेष्ठले आफ्नो राजनीतिक अनुभवलाई पार्टी संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान र कांग्रेसको लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दैलेखमा कांग्रेसको १५ औँ महाधिवेशनका लागि विभिन्न क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू मतदातामाझ पुगिरहेका छन् । यही क्रममा आदिवासी जनजातितर्फ श्रेष्ठको उम्मेदवारी पनि चुनावी चर्चामा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *