जाजरकोटका भूकम्पपीडित हिमपात कारण समस्यामा र हिमाली जिल्लामा सकस

मातृभूमी संवाददाता । १९ मंसिर जाजारकाेटः
भूकम्पबाट घरबारविहीन भएका जाजरकोटका भूकम्पपीडित चिसो बढिरहेका वेला हिमपात पनि हुँदा समस्यामा परेका छन् भने हिमपातले हिमाली जिल्लामा दैनिकी कठिन बनाएको छ । हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा समस्या भएको छ। जिल्लाभरि नै पानी परेकाले चिसो अत्यधिक बढेको छ . त्रिपालको सहारामा बस्दै आएका सर्वसाधारणलाई चिसोले जीवनयापन कठिन बनाएको छ। सबैभन्दा बढी ज्येष्ठ नागरिक , बालबालिका र सुत्केरीलाई समस्या भएको छ।
भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएकामध्ये ५ वर्षमुनिका १२ हजार ४०४ जना बालबालिका छन् भने १ हजार ८८३ जना गर्भवती त्रिपालमा बसिरहेका छन्। १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमुनि बस्न बाध्य छन्।१ हजार ८३२ जना दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा छन्। १५ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको छ भने ५५ वटामा आंशिक क्षति भएको छ । घरबाहिर चिसोमा त्रिपालको सहारामा दिन गुजार्न समस्या भएपछि यहाँका सर्वसाधारण सरकारप्रति आक्रोशित भएका छन्।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले संघ, संस्थाहरुले एकद्वार प्रणालीअन्तर्गत काम नगरेर आफूखुशी गरिरहेको आरोप लगाएका छन् । अब राहत वितरणका काम पूर्ण रुपमा बन्द गरिन्छ। संघ, संस्थाको कडा निगरानी हुनेछ,’ उनले भने। आफूखुशी धेरै काम भएको र खटाएको ठाउँमा काम नगर्ने तर आफूले रोजेकै ठाउँमा मात्र काम गर्ने भन्ने संघ, संस्थाको काम गर्ने तरिका ठिक नभएको आरोपसमेत उनले लगाए । पालिकामा राहत सामग्री स्टक राख्ने र समस्या परेको ठाउँमा मात्र पठाउने निर्णय भएको भन्दै प्रजिअ सुनारले राहत वितरणको काम अब रोक्ने निर्देशन गरिन्छ‚’ उनले भने। हिमपातपछि बढेको चिसोले जिल्ला भरिकै जनजीवन प्रभावित भएको छ ।
चिसोले बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । बाहिर अत्यधिक चिसो बढेकाले स्थानीय घरभित्रै आगो बालेर ताप्ने र झोलिलो खानेकुरा पकाएर चिसोबाट जोगिने उपाय खोज्न थालेका छन् . चिसोका कारण कार्यालयमा सेवाग्राही उपस्थिति न्यून रहेको बताइएको छ। विहानैदेखि हिमपात भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनुका साथै पठनपाठनमा समस्या भएको त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । हिमपात र बदलीका कारण सोमवार जुफाल विमानस्थलमा उडान अवरुद्ध भएको छ। आज नेपालगन्जदेखि कुनै उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।
चिसोका कारण डोल्पामा नेपाल टेलिकमको फोनसमेत प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानमा राखिएका मोबाइल टावरहरुमा सोलार सिस्टम डाउन भएपछि फोन सेवा अवरुद्ध भएको हो।हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरुवाती हिमपात हुन थालेको छ। आइतवार रातिबाट बदली हुँदै गए पनि सोमवार बिहानैदेखि उच्च भूभागमा हिउँ र बेँसीमा पानी पर्न थालेको हो।मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए। उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न शुरु भएको र चिसो असाध्यै बढेको छ।

