लोकसेवा आयोगको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

मातृभूमी संवाददाता । ०५ भाद्र सुर्खेत
सुर्खेतमा चलिरहेको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । भाद्र ४ गते बिहान ९ बजे सुर्खेत वीरेन्द्रनगर ७ स्थित लोकसेवा आयोगको कार्यालयमा सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षा सञ्चालन भइरहेका बेला प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू अन्य व्यक्तिको नाममा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिई लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ परेकामध्ये जाजरकोटको छेडागाड नगरपालिका १२ बस्ने धर्मराज चुनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका ७ सामाकोट बस्ने श्याम संकर सिंह, दैलेखको भगवतीमाई गाउँपालिका ५ बस्ने सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका सोही वडा नं ७ बस्ने भरत तिरुवा र अन्य दुईजनाको विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

