शिक्षा विधेयकमा संशोधन माग्दै दैलेखमा बस र्याली गरिने

मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकमा संस्थागत विद्यालयको सन्दर्भमा भएको व्यवस्थामा संशोधन माग गर्दै दैलेखमा शुक्रबार विद्यालय बस र्याली गर्ने भएको छ । प्याब्सन प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठकको निर्णय अनुसार शुक्रबार बिहान ११ बजे विद्यालयको बसहरु नगर परिक्रमा गराउने भएकाे हाे ।
प्याब्सनले विभिन्न माग राख्दै गत बिहीबारबाट बिरोध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्याब्सनले श्रवाण ३० गते नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय दैलेखको नेतृत्वलाई ज्ञापनपत्र बुझाएको प्याब्सन दैलेखका केन्द्रीय सदस्य शुवास थापाले जानकारी दिए ।
यस्तै भाद्र २ गते आ–आफ्नो निर्वाचन क्षेत्रका सडघीय प्रतिनिधि सभा राष्ट्रियसभा सांसदहरूलाई प्याव्सन सदस्य र पत्रकारहरुको व्यापक उपस्थितिमा ज्ञापनपत्र बुझाएको थियो । २ गते ६ः३० बजे बेलुका सुझाव संगठनका लागि राष्ट्रिय परिषदको जुम बैठक, ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी, ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी, ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी गर्ने बैठक बसेको प्याब्सन दैलेखका केन्द्रीय सदस्य थापाले बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भाद्र ६ र ७ गते प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । प्याब्सनले तोकेको समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्द समेतका कार्यक्रमको तयारी गर्न सबै तहका समितिहरूलाई सझाव दिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरु निजी विद्यालयहरुलाई अमान्य रहेको भन्दै प्याब्सनले ज्ञापनपत्र बुझाएको हो । निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिनुपर्ने विषय संशोधन गर्न तथा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने प्याब्सनको माग छ ।

