स्वःमुल्यांकनमा नारायण अगाडी हुँदा आठवीस पुछारमा

भिम सिजापति । ०८ भाद्र, दैलेख
स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन (लिजा) मा दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये नारायण नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा गरिएको स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन (लिजा)को गुणस्तर नतिजामा स्थानीय तह संस्थागत स्वःमुल्याङ्कन कार्यविधिको २०७७ को बमोजिम स्थानीय तहको स्वःमुल्याङ्कन गर्न उल्लेख गरेका ११ वटा सूचकहरू पुरा गरी ८८ दशमल २५ अङ्क प्राप्त गर्दै नारायण नगरपालिका पहिलो भएको हो ।
त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याङ्कनमा ८२ दशमल ७५ अङ्क प्राप्त गरी दुल्लु नगरपालिका दोस्रो भएको छ । चार वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दैलेखमा आठवीस नगरपालिका अन्तिममा रहेको छ । आठवीसले ४८ दशमलव ७५ अंक प्राप्त गरी स्वःमुल्यांकनको अन्तिम एघारौं स्थानमा छ ।
नारायण र दुल्लु नगरपालिका पछि ८१ द्यशमलव ५० अंक प्राप्त गर्दै महावु गाउँपालिका तेस्रो, ८१ अंक प्राप्त गर्दै डुङ्गेश्वर गाउँपालिका चौथो, ८० दशमलव ७५ अंक प्राप्त गर्दै भगवतीमाई गाउँपालिका पाँचौ स्थानमा रहेका छन् । यसैगरी ८० दशमलव ५० अंक प्राप्त गर्दै गुराँस गाउँपालिका छैठौँ, ७८ दशमलव ५० अंक प्राप्त गर्दै नौमूले गाउँपालिका सातौँ, ६४ दशमलव ५० अंक प्राप्त गर्दै चामुण्डा विन्द्रासैनी नगरपालिका आठौँ स्थानमा छ ।
यस्तै भैरवी गाउँपालिकाले ६१ अंक प्राप्त गरी नवौँ स्थानमा रहँदा ५९ दशमलव २५ अंक प्राप्त गरी ठाँटिकाँध गाउँपालिका दशौँ स्थानमा र ४८ दशमलव ७५ अंक प्राप्त गरी आठवीस नगरपालिका पुछारमा रहेको छ ।
स्थानीय सकारले संस्थागत स्वःमुल्याङ्कन गर्दा स्थानीय सरकारको शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्बधार, वातावरण संरक्षण, सहकार्य र समन्वय जस्ता कार्यहरू गर्नु पर्ने हुन्छ । स्थानीय सरकारले संस्थागत स्वःमुल्याङ्कन नगरेको खण्डमा संघीय सरकारले दिने सशर्त र निर्शत अनुदानमा समेत प्रभाव पर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *