मातृभूमी संवाददाता । १० भाद्र दैलेख
‘सेतक चिनी’ नामको जडीबुटीको नाममा हुम्लाबाट बाँकेकाे नेपालगञ्ज लैजान लागेको झन्डै ८ कराेड रुपैयाँ बराबरकाे विद्युतीय चुरोट (भेप) दैलेखकाे सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।
जिल्ला वन कार्यालय हुम्लाले ‘सेतक चिनी’ नामको जडीबुटी भनी टाँचा समेत लगाई नेपालगञ्ज लैजान अनुमति दिएको ना.अ.प.आ. ८३ नम्बरको ट्रक विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीले दैलेखको आठबीस नगरपालिका ६ खिड्कीजिउलाबाट नियन्त्रणमा लिएको थियो ।
ट्रकमा रहेकाे ३९ हजार ९० थान ‘भेप’, २ हजार ४०० केजी ‘सेतक चिनी’, ट्रक र ट्रक चालक सहित ३ जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएकाे जनाइएको छ ।
पक्राउ पर्नेहरूमा हुम्लाको सिमीकोट गाउँपालिका ३ का २७ वर्षीय छिरिङ्ग लामा, मुगुको खत्याड गाउँपालिका ५ का ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय ट्रक चालक भूमि रोकाय रहेका प्रहरीले जनाएकाे छ ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख उमेशराज रिमालले जिल्ला वन कार्यालय हुम्लाले ‘सेतक चिनी’ नामको जडीबुटी भनेर ट्रक सिलबन्दी गरेकाे तर कुनै बिलबिजक तथा कागजपत्र नभएको जानकारी दिए ।
रसुवा र मुस्ताङबाट बेलाबेला भित्रिने गरेको ‘भेप’ कर्णाली क्षेत्रबाट भित्र्याउन लागिएको अवस्थामा फेला पारिएको पहिलो पटक हो । चीनको व्यापारिक नाका हुँदै भित्रिने गरेको ‘भेप’ नेपालका शहर र भारतमा पुग्ने गरेको छ ।