तीज हेरेर फर्किदै गर्दा भीरबाट खसेर एक युवा घाइते
मातृभूमी संवाददाता । ११ भाद्र दैलेख
तीज हेरेर घर फर्कदै गर्दा भैरबी गाउँपालिका ५ बाहाचौरका १९ वर्षीय भूपेन्द्र नेपाली भीरवाट खसेर घाईते भएका छन् । भैरबी गाउँपालिका ६ घुम्ती डाँडाभीरबाट खसेर भुपेन्द्र सख्त घाइते भएका हुन् । भीरबाट करिब डेढ सय मीटर तल कालोपारामा खसेको अवस्थामा साथीहरुले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देबीराम भण्डारीले जानकारी दिए ।
घटनाबारे सूचना पाए लगतै पानीपोखरी प्रहरी चौकीका प्रहरी हवल्दार दीपक थापाको कमाण्डमा पुगेको टोलीले घाइतेको उद्धारमा सघाउनुका साथै घाइतेलाई उपचारका लागि दैलेख अस्पताल पठाउन समन्वय गरेको थियो । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको भूपेन्द्रका बुबा रतन नेपालीले जानकारी दिए ।
अत्यधिक मदिरा सेवन गरी पैंदल हिंडिरहेको बेला भूपेन्द्र भीरबाट खसेका थिए । भीरमा गुल्टिदै जाँदा जिउको वाहिरी छाला धसारिनुका साथै अनुहार, हत्केला र टाउकोमा बढी चोट देखिएको छ । प्राथमिक चोटपछि खतरामुक्त अवस्था देखिए पनि टाउकोको सीटी स्क्यान गराउनकै लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख अस्पतालले जनाएको छ ।

