आठबिस नगरपालिकामा भ्रष्टाचार रोक्न धर्ना

मातृभूमी संवाददाता । २९ कात्तिक दैलेख
दैलेखको आठबिस नगरपालिकामा भइरहेका भ्रष्टाचार, बेथिति रोक्नुपर्ने लगायतका २५ बुँदे विभिन्न माग गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले आठबिस नगरपालिकामा आबद्धहरू धर्ना बसेका छन् । नगरपालिकामा आफू अनुकूल निर्णय गर्दा नगरपालिकामा बेथिति बढ्दै गएको भन्दै धर्ना बस्नु परेको नेपाली कांग्रेस आठबिस नगर समितिले जनाएको छ ।
नेपाली कांग्रेस आठबिस नगर समितिले नगरपालिकामा बेथिति, भ्रष्टाचार र मनलाग्दी निर्णय गरेको भन्दै ज्ञापनपत्र सहित नगरपालिकाको गेट अगाडि धर्ना बसेको जनाएको छ । नेपाली कांग्रेस आठबिस नगर समितिले सामाजिक सुरक्षा तथा बालपोषण भत्ता प्रत्येक वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने, संघीय शिक्षक सहयोग अनुदान कोटा सम्बन्धी नगर कार्यपालिकाको गत भदौ २२ को निर्णय शिक्षक सिकाइ अनुदान व्यवस्थापन कार्यविधि २०७७ विपरीत र पूर्वाग्रही भएको हुँदा तत्काल निर्णय सच्याउनुपर्ने, भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासलाई आयोगसँगको प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने लगायतका माग राखिएको छ ।
त्यस्तै स्वास्थ्य संस्थामा आवश्यक औषधी तत्काल व्यवस्था गरिनुपर्ने, वर्षा सकिएको लामो समय भइसक्दा समेत अवरुद्ध भएका शाखा सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने, आठबिस नगरपालिका भित्रको जग्गा वर्गीकरण तथा भूउपयोग नक्सा तत्काल तयार गरी कार्यान्वयन गर्नुपर्ने जस्ता माग ज्ञापनपत्रमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *