लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मातृभूमी संवाददाता । ०९ मंसिर दैलेख
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि दैलेखमा पनि सुरु भएको छ । ‘प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिन्छ ।
सोहि अनुरुप दैलेखको नारायण नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला प्रशासन कार्यालय दैलेखको सहजिकरणमा आजदेखी दैलेखमा अभियानको सुरु भएको हो ।
महिला तथा लिंगका आधारमा गरिने हिंसा विरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेको नारायण नगरपालिकाको महिला तथा बालवालिका शाखाका प्रमुख गिता वुढाले वताएकी छन् ।
अभियान अर्न्तगत महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, पोष्टर तथा पम्प्लेट, सञ्चार माध्यामवाट सरोकारवालाहरुसँग छलफल लगायतका कार्यक्रम गरी मनाईने नारायण नगरपालिका महिला तथा बालवालिका शाखाका पार्वती वोगटीले जानकारी दिईन् ।
नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले एक कार्यक्रमका विच १६ दिने अभियानको सुरुवात भएको घोषणा गरेकी हुन् । अभियानका क्रममा मंगलवार साँझ दैलेखको देवकोटा चोकमा दिप प्रज्वलन समेत गरिएको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *