परिआए फेरी आन्दाेलन गर्छाैँ : अध्यक्ष खत्री
मातृभूमी संवाददाता । १६ मंसिर दैलेख
नेपाल औषधी व्यवसायी संघ दैलेखले घोषणा गरेको आन्दोलन अस्थायी रुपमा स्थगित गरेको छ । संघका जिल्ला अध्यक्ष इन्द्र बहादुर खत्रीले जिल्लाका व्यवसायीले देखाएको सक्रियता, ऐक्यबद्धता र अनुशासनप्रति धन्यवाद व्यक्त गर्दै आन्दोलन स्थायी नभई अस्थायी रूपमा मात्र स्थगित गरिएको बताए ।
उनले आवश्यक परे पुनःपनि आन्दोलन गर्न तयार रहन सम्पुर्ण व्यवासायीहरुलाई अनुरोध समेत गरे । नेपाल सरकार र संघर्ष समितिबीच भएको ३ बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष खत्रीले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग र समितिका प्रतिनिधि मण्डलबीच विवादित बुँदाहरुमा छलफल पश्चात विभिन्न ३ बुँदामा सहमति भएको छ । सहमति कार्यान्वयन समयसीमा भित्र सबै आन्दोलनका कार्यक्रमहरु स्थगन गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।
बार्ता र संवाद पछि भएको तीन वुँदे सहमति अनुसार ३० दिन भित्र समस्याको हल गरिने जनाईएको छ । भविष्यमा व्यवसायीक हकहित विरुद्ध कुनै प्रतिकूल निर्णय आएमा पुनः एकजुट भई आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष खत्रीले चेतावनी दिए ।
उनले दैलेख जिल्लामा संचालित मेडिकल, फार्मेसी, क्लिनिक, एग्रोभेट तथा आयुर्वेदिक क्लिनिक व्यवसायीहरूले देखाएको समर्थनप्रति आभार व्यक्त गरे ।

