दैलेखका पाँच स्थानीय तहमा विषादिमुक्त भान्सा अभियान

मातृभूमी संवाददाता । २१ मंसिर दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा विषादीमुक्त भान्सा अभियान सञ्चालन गरिएको छ । गाउँ घरमा उत्पादन हुने हरेक बालीमा विषादीको प्रयोगले मानव जीवनमा समस्या हुने भएपछि विषादीमुक्त भान्सा अभियान सञ्चालन गरिएको डुङ्गेश्वर गाउँपालिकाले जनाएको छ ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले कर्णाली प्रदेश सरकारले २०७४ मै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको भए पनि त्यसलाई कार्यान्वयन गर्न चुनौती रहेको अवस्थामा गाउँपालिकामा अर्गानिक उत्पादनका लागी पहिलो पटक भान्सामा विषादीमुक्त अभियान सञ्चालन गरिएको बताए
डुङ्गेश्वर गाउँपालिकाका कृषि विकास अधिकृत मेनका पाण्डेले कृषि बालीमा प्रयोग हुने विषादीलाई निरुत्साहित गर्दै गाउँपालिकाका प्रत्येक नागरिकको भान्सामा विषादीको प्रयोगलाई शून्यमा झार्न विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको बताईन् । उनले कृषकले उत्पादन गर्ने बालीमा रोग लागेको खण्डमा स्थानीय जडीबुटीबाट निर्माण गर्न सकिने विषादी बाहेक बजारमा पाइने विषादी प्रयोग नगर्न सुझाव दिने गरेको बताईन् ।
एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाका कृषि जीविकोपार्जन तथा बजारीकरण अधिकृत ललित थापाले परियोजनाले कृषकको श्रम र समयको बचत गरी कृषि उत्पादनमा जोड दिने उद्देश्यले जलबायुमैत्री कृषि प्रविधि, शत्रु जीव व्यवस्थापन, पोषण तथा सरसफाईमा सुधार गरी स्वस्थ्य जीवन सुखी परिवार निर्माण गर्ने उद्देश्यले काम गरिरहेको बताए । उनले विषादी प्रयोगलाई निरुत्साहित बनाउँदै भान्सामा विषादीमुक्त अभियान सञ्चालन मार्फत पोषण सुधारमा समेत टेवा पुर्‍याउने लक्ष्य लिएको बताए ।
परियोजनाले आठबिस नगरपालिका, गुराँस, ठाटिकाँध, भगवतीमाई र डुङ्गेश्वर गाउँपालिकामा विषादीमुक्त अभियान सहित परियोजनाले काम गरिरहेको परियोजनाका अधिकृत थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *