दैलेखमा सुन्तला उत्पादन बर्सेनि घट्दै
जित बहादुर थापा (रोशन) । २४ मंसिर दैलेख
दैलेखमा आर्थिक बर्ष २०८२/०८३ मा सुन्तला उत्पादनमा कमी आएको छ । गत अर्थिक बर्ष २०८१/०८२ मा ८ हजार ७ सय ७५ मेट्रिक टन सुन्तला उत्पाद भएकोमा गत आर्थिक बर्षको तुलनामा यो बर्ष ८ सय ४० मेट्रिक टन कम उत्पादन भएको कृषि बिकास कार्यालय दैलेखले जनाएको छ ।
सुन्तलाको बोट पुरानो र सिँचाइको अभाव लगायत कारण सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । उनले यसवर्ष जिल्लामा करिब ३६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको बताए । गत आर्थिक वर्षमा करिब ४३ करोड ८७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कार्यालय प्रमुख पाण्डेको भनाई छ
यस्तै दैलेख जिल्लामा अहिले बोट पुरानो र समय अनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको दुल्लु नगरपालिका ११ का स्थानिय कृषक खड्क बहादुर मल्लले बताए । उनले यो बर्ष असिना परेकाले सुन्तला उत्पादन घटेको बताए । उनले गत वर्ष ५ लाख ५० हजारको सुन्तला बिक्री गरेको र यस वर्ष ३ लाखको पनि सुन्तला बिक्री गर्न नसकिएको उनको भनाई छ । आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले भने जस्तो गरी सुन्तला उत्पादन गर्न नसकेको कृषक मल्लको बताए ।
बगौचा ब्यवस्थापनका लागी कृषि सामाग्री बितरण र तालिम प्रदान गर्ने कृषि बिकास कार्यालय दैलेखका अर्गानिक कृषि बिज्ञ झलक भण्डारी बताए । चामुण्डाबिन्द्रासैनि, दुल्लु नगरपालिका, ठाटिकाँध भगवतीमाई र डुङ्गेश्वर गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको अर्गानिक कृषि बिज्ञ भण्डारीको भनाई छ ।

