प्रतिनिधिसभा निर्वाचन : धमाधम उम्मेदवारको नाम सिफारिस गर्दै
जित बहादुर थापा (रोशन) । २६ मंसिर दैलेख
नेपाली कांग्रेस दैलेख फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्न थालेको हो ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिए सबैको नाम केन्द्रमा पठाइने नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताए । उनले आकांक्षषी धेरै भएपछि छलफल गरेर जिल्लामा असन्तुष्टि नहुने गरी उम्मेदवार चयन गरिने बताए । उहाँले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १३ जना, समानुपातिकतर्फ सात जना र राष्ट्रियसभा निर्वाचनतर्फ ६ जनाको उम्मेदवारी भएको बताए ।
प्रतिनिधिसभामा खेमराज केशी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्र बहादुर थापा, नगेन्द्र बहादुर मल्ल, नर्सिङ मल्ल, पदम बहादुर मल्ल, बखत बहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा र सुशील देउजा रहेको सभापति रेग्मीले बताए । यसैविच प्रतिनिधिसभा समानुपातिकतर्फ कुल बहादुर विश्वकर्मा, दीपक सोनी, दुर्गा श्रेष्ठ, निर्मला कुमारी थापा, मीना कुमारी थापा र मोहनमाया प्याकुरेल रहेको उहाँले बताए ।
यसैगरी, राष्ट्रियसभातर्फ किशोर केसी, रंगबहादुर शाही, खड्क बहादुर सिजापति, नगेन्द्र बहादुर खत्री, सीता ज्ञावली र हिक्मत बहादुर विश्वकर्मा तथा प्रतिनिधिसभा समावेश समानुपातिकतर्फ गणेश बहादुर बोगटी रहेका छन् ।

