समयको मागमा उभिएको युवा नेतृत्व : शाही

मातृभूमी संवाददाता । ०७ पुष दैलेख
दैलेखको नारायण नगरपालिका २ मा २०३४ सालमा जन्मिएका भुपेन्द्र शाही राजनीतिलाई पदको होइन, जिम्मेवारीको यात्राका रूपमा बुझ्ने युवा नेताका रूपमा परिचित छन् । परिवर्तनको चेतना र लोकतान्त्रिक संस्कार बोकेको परिवारमा हुर्किएका शाहीको जीवन कथा स्वयं नेपाली लोकतान्त्रिक आन्दोलनसँग गाँसिएको छ ।
उहाँका हजुरबुब कप्तान दिप बहादुर शाही २००७ सालको जन आन्दोलनमा निरंकुश राणा शासन विरुद्ध सशस्त्र संघर्षमा सहभागी मुक्तिसेनाका कप्तान थिए । बुबा टेक बहादुर शाही काठमाडौं स्थित महाराजगञ्ज चिकित्सा अध्ययन संस्थानमा विद्यार्थी रहँदा विद्यार्थी हित परिषद्का सभापति भएका थिए । यही राजनीतिक विरासतले भुपेन्द्र शाहीलाई विद्यार्थी जीवनदेखि नै राजनीतितर्फ मोडियो ।
काठमाडौंमा स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि धेरैले राजधानीमै भविष्य खोजिरहेका बेला शाही भने “आफ्नै जिल्लामा केही गर्नुपर्छ” भन्ने सोच सहित २०५८ सालमा दैलेख फर्किए । सोही समयदेखि मानव अधिकारका क्षेत्रमा सक्रिय रहँदै उहाँ नागरिक अभियन्ता र पत्रकारका रूपमा स्थापित भए । २०५८ सालदेखि निरन्तर पत्रकारितामा संलग्न शाही २०६८ देखि २०७८ सालसम्म नेपाल प्रेस युनियन दैलेखको सभापति समेत भएका थिए । राजनीतिक संगठन निर्माणमा उहाँको योगदान उल्लेखनीय छ । २०६९ सालको आम निर्वाचनमा नेपाली काँग्रेस दैलेखको निर्वाचन प्रचार–प्रसार समितिको सह–संयोजकको जिम्मेवारी सम्हाल्दै सक्रिय भूमिका निर्वाह गरे । त्यसपछि २०७४ र २०७९ सालका स्थानीय तह तथा आम निर्वाचनमा समेत प्रचार समितिको सह–संयोजकका रूपमा पार्टीलाई बलियो बनाउन निरन्तर खटिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको प्रमुख पदका लागि पार्टीबाट नाम सिफारिस र २०७८ सालमा प्रदेश सभा सदस्यका लागि जिल्ला स्तरबाट सिफारिस भएको प्रति पार्टी विश्वासको प्रमाण भएको थियो । स्थानीय तह पुनर्संरचनाका क्रममा विज्ञका रूपमा जिल्ला स्थानीय तह पुनर्संरचना समितिमा रही काम गर्नु उनको नीतिगत क्षमता र जिम्मेवारी बोधको अर्को उदाहरण हो ।
२०७९ सालको स्थानीय तथा आम निर्वाचनमा उम्मेदवारका घोषणा पत्र र प्रतिबद्धता पत्र निर्माणमा सक्रिय भूमिका खेलेका शाही पार्टीका १०० दिने अभियान, ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ जस्ता अभियानमा प्रशिक्षक र प्रतिनिधिका रूपमा खटिएका थिए ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भुपेन्द्र शाही हाल जिल्ला कार्य समिति दैलेखका प्रेस सल्लाहकार पनि छन् । संगठन, विचार र व्यवहारमा सन्तुलन मिलाउने उनी आज दैलेखका लोकप्रिय युवा नेतामध्ये एक हुन–आम युवाहरूको आशा र भरोसाको केन्द्र भुपेन्द्र शाही नेतृत्व परिवर्तन आजको आवश्यकता भएको बताउँछन् ।
कृषि, स्वास्थ्य र शिक्षामा आमूल सुधार बिना समृद्धि सम्भव छैन भन्ने उहाँको दृढ विश्वास छ । आर्थिक वृद्धिदर बढाउन अर्थनीतिमा सुधार, युवालाई उत्पादनसँग जोड्ने योजना, र जल, जंगल, जमिन तथा खानी जस्ता प्राकृतिक स्रोतहरूको दिगो उपयोग उहाँको राजनीतिक दृष्टिकोणका मुख्य आधार हुन् ।
समावेशी नेतृत्वमा विश्वास राख्ने शाही हरेक उमेर, वर्ग र समुदायको सहभागिता बिना लोकतन्त्र बलियो नहुने बताउँछन् । यही विश्वास र यात्राका कारण भुपेन्द्र शाही दैलेखको राजनीतिमा परिवर्तनको मिठो आशा बोकेर अघि बढिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *